प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताउनुभएको छ । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताउनुभयो ।
उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला, २०१९’ को विहिबार उद्घाटन गर्दै उहाँले शान्ति सुव्यवस्था, सुशासनमार्फत विकासका गतिलाई तीव्रताका साथ अघि बढाइने बताउनुभयो । नेपाल विकासका लागि प्रचुर सम्भावनायुक्त मुलुक भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल प्राकृतिक स्रोत र खनिजले युक्त छ, अत्यन्त उर्वर भूमि र प्रकृति छ, विकासका लागि क्रियाशील युवा जनशक्ति छ, उपलब्ध स्रोत साधन र क्षमताको प्रयोगबाटै मुलुकको विकास गरिन्छ ।”
सरकारले मुलुकको विकासका लागि स्वदेशी लगानीलाई बढीभन्दा बढी प्राथमिकता दिने उहाको प्रतिबद्धता थियो । प्रधानमन्त्रीले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आन्तरिक पूँजी र प्रविधिको न्यूनता खड्किएकाले विदेशी पूँजी र प्रविधिको प्रयोग गरेर नेपालको विकासमा सरकार अघि बढेको बताउनुभयो । बाह्य लगानीलाई आकर्षित र सुरक्षित गर्ने वातावरण सिर्जना गरी लगानीका लागि नेपाल उपयुक्त मुलुक हो भन्ने प्रमाणित गराउन सरकार क्रियाशील रहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्ताको लगानी प्रतिफलदायी, सुरक्षित, पूँजी र प्रतिफल आफ्नो देशमा लैजान सक्ने हेतुले कानूनी, प्राविधिक, व्यावहारिक वा प्रशासनिक व्यवधान सरलीकरण गरिएको बताउनुभयो ।
विगत अब इतिहास भइसकेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले विकासको नयाँ दृष्टिकोण अघि सारेको बताउनुभयो । सरकार निजी क्षेत्रसँग सहकार्य गर्र्दै निजी र सहकारी क्षेत्रलाई सँगै लिएर हिँड्न चाहेको प्रस्ट पार्दै प्रधानमन्त्रीले सरकार एकाधिकार र एकलौटी गर्ने पक्षमा नरहेको उल्लेख गर्नुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रको सहभागिताबिना मुलुकको विकास सम्भव नभएको उल्लेख गर्दै सरकार र निजी क्षेत्रका व्यवसायी बीचको एकता अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापार मेलाले शुक्रबारदेखि शुरु हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सफल बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
महासङ्घका अध्यक्ष भवानी राणाले नेपालको व्यापार घाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नुको विकल्प नभएको जिकीर गर्दै स्वदेशी उत्पादनलाई विश्व बजारमा स्थापित गर्न मेला उपयुक्त अवसर भएको बताउनुभयो । अन्तर्राष्ट्रिय व्यापार मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको छ । मेलामा छिमेकी देशमा उत्पादन भएका सामग्रीसहित २५० स्टलहरू राखिएको छ ।