अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 14:23

अन्तरिक्षमा राखिएको भू–उपग्रह खसाल्न भारत सफल– प्रधानमन्त्री मोदी

बिआरटीनेपाल २०७५ चैत १३ गते ९:४१ मा प्रकाशित

भारतले बुधबार पृथ्वीको भू–उपग्रहीय तल्लो कक्षमा राखिएका भू–उपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसालेको दावी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भनाईमा उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको छ ।

संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ । टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतीय वैज्ञानिकहरुले एउटा भूउपग्रहलाई सफलतापूर्वक खसालिदिएको र उक्त क्षण भारतका लागि गर्वको क्षण रहेको उल्लेख गर्नुभयो ।

भारतीय वैज्ञानिकहरुका अनुसार क्षतिग्रस्त भू–उपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा थियो । प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको बताउनुभएको छ । यो कुनै मुलुकप्रति लक्षित पनि नभएको उहाँले स्पष्ट गर्नुभयो ।

भारतीय लोकसभाको चुनाव आउनै लागेको अवस्थामा यस्तो घोषणा गरिएको छ । प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । भारतमा यही अप्रिल ११ देखि मतदानका कार्यक्रमहरु शुरु हुँदैछन् र यो करिब ६ हप्ता चल्नेछ । करिब ९० करोडले यसपटक मतदानमा भाग लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू