नेपाली कामदार रोजगारीका लागि जापान पठाउने गरी दुई देशले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । श्रम मन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक पाउनेछन् । जापानले अप्रिल १ देखि १४ कार्यक्षेत्रमा नेपालसहित ९ देशबाट विदेशी कामदार लिँदैछ ।
कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, लगायत क्षेत्रमा जापानले श्रमिक लिने भएको छ । जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने छ ।
पहिलो वर्ग (एसएसडब्लू–आई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरू बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् । दोस्रो वर्गका कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ । डाक्टर, नर्स, इन्जिनियर लगायतले यस्तो भिसा पाउनेछन् । यस्ता कामदारको पनि भिसा अवधि थप गर्न सकिने र परिवारका सदस्यहरूलाई समेत जापान लैजान सक्ने सुविधा हुने समझदारी भएको छ । नेपाली कामदारहरुले जापानमा रहँदा त्यहाँका नागरिक सरह सेवा सुविधा पाउने सुनिश्चितता समझदारीमा उल्लेख गरिएको छ ।
सरकार असफल भयो– पूर्व प्रधानमन्त्री भट्टराई
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताउनुभएको छ । भट्टराईले मुलुकमा बाह्य लगानी घटेको, व्यापार घाटा बढ्दै गएको, विकास खर्च समेत लक्ष्य अनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतातर्फ उन्मुख भएको बताउनुभएको हो ।
सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारको एक वर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको दाबी गर्नुभयो । संयोजक भट्टराईले जनताको अपेक्षा अनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको पनि बताउनुभएको छ । संयोजक भट्टराईले वर्तमान सरकारले वैदेशिक सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको ठहर गर्नुभयो ।