विभिन्न रङ, अबिर र लोला खेली आपसी मेलमिलाप र सदभावको सन्देश लिई अमेरिकाको कोलोराडोमा होली खेलिँदै छ । स्थानीय नेपाली संस्था नेपाली घरद्वारा आयोजित हुने उक्त कार्यक्रम आउँदो मार्च २३ शनिवार बिहान ११ बजे देखी २ बजे सम्म नेपाली मन्दिर (सनातन मन्दिर) ब्राइटनमा खेलिने भएको छ । नेपाली घरको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।नेपालका सबै जात-जातिले मनाउने होली पर्व नेपालमा तराई तथा भेगमा पहाडी भिन्न भिन्नै दिन हर्षोल्लास पूर्वक मनाइन्छ ।
अमेरिकामा अरू दिन कामबाट छुट्टी नमिल्ने भएकोले दुई दिन पछि शनिवार होली आयोजना गर्न लागिएको नेपाली घरका अध्यक्ष लछुमन राणाले बिआरटी नेपाल बताएका छन् । कार्यक्रम पछि खाजाको पनि व्यवस्था गरिएको छ । कोलोराडोमा होली अर्थात् फागुपुर्णिमा नेपाली घरले २०१० देखी मनाउँदै आइरहेको छ । नेपालमा पहाडी क्षेत्रमा मार्च २० तारिख बुधवार तथा तराईमा २१ तारिख बिहीबार फागु पूर्णिमा परेको छ ।
सांस्कृतिकका साथ वैज्ञानिक महत्त्व बोकेको यस पर्वमा खेलिने रङका अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्नुका साथै होलीका दहनको धुवाँबाट शीतकालजन्य रोग नास हुने र खरानीले दुष्टात्माको कुदृष्टि नपर्ने जनविश्वास रहेको छ । त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान् भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए ।
भगवान् विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने वरदान पाएकी होलिका भनेँ सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ। हिन्दुहरूले यसलाई महत्त्वपूर्ण चाडका रूपमा लिने गरेको हुँदा होलीमा रङ्गहरूको टीका लगाइ मनाउने गरिन्छ ।
नेपाली घरले कोलोराडोमा रहेका संस्थाहरूका प्रतिनिधि, व्यवसायी, कर्मचारी, पत्रकारका साथै सबै नेपालको संस्कृतिप्रति आस्था राख्ने सबैलाई होली कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
गत बर्षका तस्बिरहरु: