अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

सम्बृद्धिका लागि सार्वजनिक– निजी साझेदारी –  अर्थमन्त्री खतिवडा

बिआरटीनेपाल २०७५ फागुन २३ गते ८:५७ मा प्रकाशित

नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संविधानमै सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका रहने स्पस्ट उल्लेख गरिएकाले समृद्धि हासिल गर्न सार्वजनिक–निजी साझेदारी अगाडि बढाउन लागिएको बताउनुभएको छ । बिहीबार संसदमा ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले सबै स्रोत–साधन केन्द्रिकृत गरेरमात्रै समाजवाद आउन नसक्ने भएकाले जनतासामु गरेका प्रतिबद्धता, संविधानमा लेखिएका कुरा कार्यान्वयन गर्नपनि सार्वजनिक–निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने स्पस्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले ठूला आयोजनालाई सहजरुपमा अगाडि बढाउन लगानी बोर्डमार्फत् निर्णय गर्ने ध्येयका आधारमा विधेयक ल्याइएको पनि बताउनुभयो । विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु देव गुरुङ, भरतकुमार शाह, प्रेम सुवाल, जनार्दन शर्मा, उमाशंकर अरगरियालगायतले भाग लिनुभएको थियो ।

बिहीबारको बैठकले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’ र ‘आर्थिक कार्यबिधी तथा वित्तीय उत्तरदायित्व विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

यसैबीच, प्रतिनिधिसभा बैठकको बिहीबारको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले टीकापुर घटनाका सम्बन्धमा जिल्ला अदालत कैलालीले रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाउनु अन्यायपूर्ण भएको बताउनुभएको छ । यस्तै, सांसद पुष्पा भुसालले वीरगन्जमा रहेको बीपी उद्यानको नाम परिवर्तन गर्ने प्रदेश सरकारको निर्णयप्रति आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय