राष्ट्रिय जनता पार्टी नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिनुभएको हो ।
पार्टीका सांसद चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उहाँले त्यस विरुद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा पनि गर्नुभयो । नेता महतोले पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्ने अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनि आक्रोश पनि व्यक्त गर्नुभयो ।
जिल्ला अदालत कैलालीले आज हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको थियो । त्यसप्रति नेता महतोको आपत्ति छ । नेता महतोले आज अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आन्दोलनकारी चौंधरीलाई जन्मकैदको सजाय दिने प्रवृत्ति विरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो ।
