काठमाडौँ, चलचित्र लिली बिलीबाट निकै रुचाइएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको नयाँ चलचित्र लभ स्टेसन आगामी २२ चैतबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । चलचित्र लभ स्टेसनको ट्रेलर मङ्गलवार काठमाडौँको क्युज सिनेमा हलमा एक समारोहबिच सार्वजनिक गरिएको छ ।
ट्रेलर अनुसार यो चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्धमा अर्का अभिनेता प्रकाश शाह बाधक बनेका छन् । जसिता र प्रकाश बिचको विवाहको तयारी पनि ट्रेलरमा देखाइएको छ । तर विवाहसँगै प्रदीप र जसिताको प्रेमले कुन रूप लिन्छ, त्यो बुझ्न भने फिल्ममै हेर्नु पर्नेछ ।
फिल्ममा कुनै पात्र लामो समयदेखि हराएको र अभिनेता प्रदीप खड्का त्यो पात्रको खोजीमा रहेको पनि ट्रेलरमा देखाइएको छ । अहिले लभ स्टेसनको ट्रेलरले दर्शकदेखि सञ्चारकर्मी सम्म बाट समेत प्रशंसा पाएको छ । यससाई बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ । ट्रेलरलाई साहिल खानले काटेका हुन् ।
अभिनेता प्रदीप खड्काले अग्रज निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको बताएका छन् । आफू र जसिताले पनि यस पटक लभ स्टेसनमा त्यतिकै राम्रो काम गरेको यी अभिनेताले जिकिर गरेका छन् ।
यस पटक चलचित्र लभ स्टेसनमा आफैँले स्वराँकन गरेकी जसिताले पनि चलचित्र लभ स्टेसनसम्म आई पुग्दा आफ्नो काम अझ परिपक्व भएको प्रतिक्रिया पाएको बताएकी छिन् । आफू यो फिल्मबाट थप उत्साहित भएको र आउँदा दिनमा प्रदीपसँगै अरू अभिनेताहरूसँग समेत काम गर्न इच्छुक रहेको यी अभिनेत्रीले बताएकी छिन् ।
यही चलचित्रबाट खल भूमिकामा डेब्यु गरेका प्रकाश शाहले पनि राम्रो टिम पाएका कारण लभ स्टेसनमा आफूले खुलेर काम गर्न पाएको अनुभव सो कार्यक्रममा सुनाए । अग्रज अभिनेता रमेश बुढाथोकीले पनि फिल्ममा अभिनेता प्रदीप र अभिनेत्री जसिताको कामको प्रशंसा गर्दै समग्र टिमले यसमा राम्रो काम गर्न सकेका छौँ भने ।
लभ स्टेसनका निर्देशक उज्ज्वल घिमिरेले नयाँ पुस्तालाई लक्षित गरेर आफूहरूले समकालीन पुस्ताका लागि फिल्म तयार गरेको बताए । प्रदीप र जसितासँग काम गर्दा यी दुई कलाकारले आफूलाई पूर्ण साथ निकै रमाइलोसँग सुटिङ सम्पन्न भएको बताए ।
वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले त बलिउडका उत्कृष्ट लभ स्टोरी फिल्मकै लेबलको चलचित्र लभ स्टेसन बनेको बताए । उनले यो फिल्म हिट हुने सिमेत दाबी गरे ।
यो चलचित्रका प्रस्तुत कर्ता गोविन्द शाहीले आफ्नो होम प्रोडक्सन काफिया फिम्सले लभ स्टेसनलाई राम्रो बनाउन कुनै कम्प्रमाईज नगरेको बताए ।
यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।
लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाङ्कन रहेको लभ स्टेसनमा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज सिवाकोटी र एलिश कार्कीको सङ्गीत छ ।
यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस राईको पाश्र्व सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यवस्थापन रहेको छ । फिल्मलाई निर्देशक घिमिरे र सुवाससिंह बस्न्यातले लेखेका हुन् ।