अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

पोखरामा बुधवारदेखि प्याराग्लाइडिङ उडान बन्द गरिने

बिआरटीनेपाल २०७५ फागुन २१ गते ४:०४ मा प्रकाशित

पोखरा महानगरपालिकाले बुधबारदेखि प्याराग्लाइडिङ उडान बन्द गर्ने भएको छ । प्याराग्लाइडिङ कम्पनीहरुले सरकारलाई ‘कर नतिरेको’ भन्दै महानगरले प्याराग्लाईडिङ उडानमा रोक लगाउने निर्णय गरेको हो । पोखराको आकासमा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएकै बेला महानगरले यस्तो निर्णय गरेको छ ।

पोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले करको विषयमा सम्बन्धित कम्पनीहरुलाई पत्र लेखेर कर बुझाउन आग्रह गरे पनि उनीहरुले अटेर गरेपछि महानगर र वडा कार्यालयले उडान नै बन्द गर्न लागेको बताईएको छ ।

महानगरले गत पुस १९ गते अहिले अप्रेशनमा रहेका सबै कम्पनीलाई अनिवार्य कर तिर्नु भनेर पत्रचार नै गरेको छ,’ पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले भन्नुभयो, ‘वडा कार्यालयले पनि अन्तिम पटक यहि फागुनको १५ गते पत्र लेखेर फागुनको २१ गते भित्र कर नबुझाए उडान रोक्ने भनेर पत्र पठाएको छ । यो अनुसार भोलिबाट उड्न पाउँदैनन् ।’

पोखरा महानगरको वडा नम्बर १८ मा पर्ने सराङकोट प्याराग्लाइडिङ उडानको प्रमुख थलो हो । पोखरा महानगरको नगर परिषदले आर्थिक वर्ष २०७५र०७६ को लागि प्रत्येक प्याराग्लाइडिङ कम्पनीबाट २५ हजार वार्षिक शुल्क लिने निर्णय गरेको थियो ।

यता, गण्डकी प्रदेश सरकारले पनि प्याराग्लाइडिङ कम्पनीलाई करको दायरामा ल्याउने भन्दै वार्षिक एक लाख रुपैयाँ शुल्क कायम गरेको थियो । प्रदेश सरकारले शुल्क उठाउने जिम्मेवारी भने स्थानीय सरकारलाई नै सुम्पेको छ । प्रदेश र स्थानीय सरकार दुबैले तोकेको शुल्कको रकम करिब एक लाख ८६ हजार हुन आउँछ । आफूहरु दोहोरो शुल्कमा परेको भन्दै व्यवसायीहरुले कर तिर्न आनाकानी गर्दै आइरहेका छन् । पोखरामा अहिले ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीले व्यावसायिक उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू