अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

हेलिकप्टर दुर्घटनामा मृतक परिवारले पाउने बिमा रकमबारे यस्तो छ व्यवस्था

बिआरटीनेपाल २०७५ फागुन १९ गते २२:०४ मा प्रकाशित

काठमाडौँ, ताप्लेजुङमा गत बुधवार एयर डाइनेस्टी हेली सर्भिसको एएस ३५० हेलिकप्टर दुर्घटना भयो । जसमा सवार ७ जनाको मृत्यु भयो । हेलिकप्टर दुर्घटनामा मृत्यु हुने अधिकांश उच्च आहोदाका व्यक्तिहरू थिए । विशेष गरी हवाई दुर्घटनामा मृत्यु हुनेले बिमा बापतको रकम कति पाउने भन्ने विषयमा अझै आम मानिसहरूलाई जानकारी छैन । नागरिक उड्यन मन्त्रालय अन्तर्गत यस्ता कुराहरू पर्ने गर्छन् । तर यो पटक स्वयम् मन्त्रालयको जिम्मेवारी पाएका व्यक्तिको मृत्यु भएको छ ।

बिमा रकमका विषयमा नेपाल उड्डयन प्राधिकरण तथा हेलिकोप्टर कम्पनीकाअनुसार पीडित परिवारले वार्सा महासन्धि र हेग प्रोटोकलअन्तर्गत रहेर बिमा रकम पाउनेछन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले लागू गरेको नीति भने नेपालले भरखर मात्र अवलम्बन गरेको छ । जसअनुसार प्रति परिवार झन्डै १ लाख ५८ हजार ३ सय ४० अमेरिकी डलर बराबरको रकम पाउने व्यवस्था छ । नेपालको आन्तरिक उडानमा भने यो लागू नहुने स्वयम् प्राधिकरणका अधिकारीको भनाई छ । महासन्धि र हेग प्रोटोकलअन्तर्गत रहेको नेपालको आन्तरिक उडानमा बिमा दायित्व २० हजार अमेरिकी डलर भनिएको छ ।

तर हाल नेपालमा विमान कम्पनीले आफ्नो बिमा नीतिअनुसार बिमा रकम दिने गरेका छन् । हालसम्म एयर डाइनेस्टीले औपचारिक रूपमा बिमाका विषयमा खुलाएको छैन । तर बुधवार दुर्घटनामा परेका पाइलटको भने एक करोडको बिमा रहेको जनाइएको छ । अन्य यात्रुको भने २५ लाखसम्मको बिमा हुने बुझिएको छ । उक्त हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्डयन व्यवसायी आङ छिरिङ शेर्पा सहित ७ जनाको मृत्यु भएको थियो ।

दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय