अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 19:31

नेजा नेतृत्व हत्याउन अहिले देखि नै चलखेल सुरु

बिआरटीनेपाल २०७५ फागुन १८ गते ११:२० मा प्रकाशित

अमेरिकामा रहेका नेपालीमा पदको भोक कति हुन्छ भन्ने कुरा त वर्णन गर्नै पर्दैन । अमेरिकामा खुलेका नेपालीहरूका बग्रेल्ती सङ्घ संस्थाहरूले नै त्यसको पुष्टि गर्दछ । आफूले पद पाए सबै ठिक नपाए बेठिक भन्ने व्यक्ति र समुहकाे सोचका कारण अमेरिकामा रहेको नेपाली समाज फुट्दै गएको छ ।

सबका सब पदको लोभी हुने क्रममा अमेरिकामा रहेका नेपाली पत्रकार पनि दुई कदम अगाडि नै छन् । नेपाल अमेरिका पत्रकार स‌ंघ (नेजा)काे वर्तमान कार्यसमितिका पदाधिकारी जिम्मेवारीमा आएको ६ महिना पुग्दा नपुग्दै अहिले गर्नु पर्ने काम छोडेर अबको चुनावमा कसरी नेतृत्व लिने भन्ने ध्याउन्नमा केन्द्रित भएको स्वयम् कार्यसमितिकै सदस्यले गुनासो गर्न थालेका छन् ।

नेजाकाे अबको चुनाव आउन १८ महिनानै बाँकी छ । तर वर्तमान कार्यसमितिका पदाधिकारी अहिले आफूले पाएको जिम्मेवारी उत्कृष्ट ढ‌ंगले पुरा गरी सबै सदस्यको मन जितेर नयाँ जिम्मेवारी लिने भन्दा पनि अब कसरी अबको निर्वाचनमा आफू सफल हुने भन्नै तिकडम सुरु गर्न थालेका समाचार आएका छन् ।

मुख्यतय नेजाकाे अहिलेको कार्यसमितिमा मुख्य खेलाडिकाे रूपमा पत्रकार रामचन्द्र भट्ट देखिएका छन् । पदमा नहुँदा दिनहुँ नेजाकाे खाेइराे खन्ने गरेका भट्ट अहिले नेजा टेक्सस क्षेत्रको स‌ंयाेजक हुन् । अमेरिकामा रहेका नेपाली मध्येमा आफू र गैर आवासीय नेपाली सङ्घ एनआरएन अमेरिका क्षेत्रीय स‌ंयाेजक गौरी जोशी बाहेक सबै बेठिक भन्ने भट्ट आफू चैँ नेतृत्वमा नआउने तर समीकरणमा मुख्य भूमिकामा रहने खोज्ने व्यक्ति हुन । भट्ट लगायत उनका टिमले नेजाको कुनै पनि समाचारलाई उनी संलग्न टेक्सासबाट संचालित अनलाइन पत्रिकामा दुई वर्ष सम्म ब्ल्याक आउट नै गरेका थिए । यती सम्म कि डालासमै भएको नेजाको कार्यक्रममा आफुहरु पनि अनुस्पथित रहे र अन्यलाई पनि नजान लबिङ गरेका थिए ।

भट्टलाई पर्दा पछाडि बसेर सिकाउने आर्थिक पत्रकार विजय घिमिरे, वरिष्ठ पत्रकार तारा बराल र नेजा राजनीतिमा ‘कोमा’ बाट फर्किएका पूर्व अध्यक्ष गाैतम दाहालको साथ रहँदै आएको छ । गौतम दाहाल आफूलाई खरो काँग्रेसी भन्ने गर्दछन् तर नेजा राजनीतिमा पछिल्लो समय ‘छुद्र वामपन्थी’ पत्रकार भट्टले फनफनी घुमाएको भेउ समेत पाउन छाेडेकाे बताइन्छ ।

पहिलो गाँसमा ढुङ्गा
त्यसो त आफूलाई औधी जान्ने देखाउने भट्टलाई पहिलो झड्का लागि सकेको छ । भट्टले विकास न्यौपानेको बाटो सहज बनाउन नेजाकाे आगामी मे मा हुने विधान अधिवेशन अन्यत्र गराएर अर्को वर्ष हुने चुनावी अधिवेशन टेक्ससमा गराउने लवीङ्ग गरेका थिए । उनको त्यो प्रयासमा उनैका प्रिय अध्यक्ष सुदिप पन्त बाधक बने । नेजाका महासचिव किरण मरहठ्ठाले अध्यक्षलाई चोरी सकेको भट्टले त्यस पछि मात्र भेउ पाए । जति बेला भट्ट, न्यौपाने र टेक्ससमा नै बस्ने सचिव सुरज भण्डारीको चर्को विरोध र असहमति हुँदा हुँदै नेजाकाे विधान अधिवेशन टेक्ससमा गर्ने निर्णय भयो । ‘तपाइहरूले नगर्ने हो भने पनि म एक्लै आएर टेक्ससमा नेजा अधिवेशन गराउँछु’ अध्यक्ष पन्तको धम्कीका अगाडि भट्ट समूह झाेक्राउन पुगेको थियो ।

नेपाल सरकारको अवैधानिक बाणिज्यदूत भएर पनि पत्रकारहरुकाे संस्थामा सियाटल अधिवेशनमा किरण मरहठ्ठालाई महासचिवमा जिताउन हस्तक्षेप गरेका लसएन्जलसका व्यापारी ऋषि ढकालले ‘अबको अध्यक्ष किरण मरहठ्ठा’ भनेर सुदिप पन्तलाई धाप मारेको र त्यसै लाइनमा अध्यक्ष पन्त देखाएको गुनासो कार्यसमिति भित्रैबाट आउने गरेको छ । आफूलाई साझा र निर्विवादित मान्छे भन्ने तर किरण मरहठ्ठाकाे बाटो खुलाउन मतियार बन्ने गरी नेजामा निर्णय गर्ने गरिएको देखिएको छ । सुदिप पन्तको किरण मरहठ्ठा भन्दा पुरानो र नजिकको दोस्ती भट्ट र न्यौपानेसँग हो । तर कार्यसमितिका सदस्यका अनुसार विधान अधिवेशन टेक्ससमा नै जसरी पनि गराउने निर्णय गर्दा पन्तले आफ्नो बर्षाै पुरानो दोस्ती दाउमा राखेका थिए । त्यसको फलस्वरूप त्यस पछिका केही बैठकमा भट्ट र न्यौपाने अनुपस्थित रहन पुगे । साथै एनआरएनको एक कार्यक्रम पनि नगर्ने भए ।

आफ्नो हात जगन्नाथ
नेपाली उखान आफ्नो हात जगन्नाथलाई नेजाका उपाध्यक्ष र महासचिव दुवैले चरितार्थ गरेका छन् । अबको अध्यक्षको रेसमा को अगाडि रहने र के के तिकडम गर्ने भन्नेमा उपाध्यक्ष न्यौपाने र महासचिव मरहठ्ठाकाे अहिले देखि नै प्रतिस्पर्धा नै चल्ने गरेको देखिएको छ । यी दुवै जनाले अबको अध्यक्ष हत्याउन नेजाकाे अहिले सम्मको परम्परालाई नै तिलन्जली दिएका छन् । आफूलाई नियम सङ्गत पालक बताउने रामचन्द्र भट्ट फड्के किनारा साझि भएर गरिएको नेजाकाे पछिल्लो निर्णय लोक हँसाउने रहेको छ ।

नेजाले अब दिने पत्रकार पुरस्कार छनोट समितिको स‌ंयाेजकमा महासचिव मरहठ्ठा आफै बसेका छन् । पुरस्कार छनोट प्रक्रिया विवादित नहाेस र कार्यसमितिको पनि कुनै स्वार्थ नबाझियाेस भनेर छनोट समितिमा कार्य समिति भन्दा बाहिरको पत्रकारलाई जिम्मेवारी दिने गरिएको थियो । यो भन्दा पहिले पुरस्कार समितिको संयोजकमा पत्रकार राजेश मिश्र थिए । तर अबको चुनावमा अध्यक्ष भन्दै हिँडेका मरहठ्ठा आफै कुन स्वार्थमा पुरस्कार छनोट समितिमा बसे त्यो भने आफैमा आश्चर्य छ । उनको समितिले अबको चुनावमा भोट प्रभावित गर्ने गरी काम गर्दैन भनेर कसरी विश्वास गर्ने ?

पदीय मर्यदाकाे कहाँ गयो ?
हुन त सिरु रोपेर कुशको आशा गर्नु नै बेकार हो । आफूलाई अमेरिकामा रहेका पत्रकारहरुकाे अभिभावक दाबी गर्ने वरिष्ठ पत्रकार तारा बरालले जालसाझी गरेर उपाध्यक्ष बनेका विकासराज न्यौपानेले फेरि पनि पदीय मर्यादालाई कुल्चेका छन् । सियाटल महाधिवेशनमा मनोनयन दस्तुर नै नतिरी विकास उपाध्यक्षमा निर्वाचित भएका हुन । निर्वाचन कमिटिको संयोजकमा वरिष्ठ पत्रकार तारा बराल थिए । बराल र विकास टेक्सासबाट सञ्चालन हुने एउटै पत्रिकामा संलग्न छन् । नेजाकाे विधानमा उमेदवारकाे योग्यता पुग्नका लागि उम्मेदवारी दस्तुर पनि तिर्नु पर्ने भन्ने छ । तर विकासले उपाध्यक्षका लागि लाग्ने तीन सय दस्तुर नतिरी उपाध्यमा विजयी भएको प्रमाण पत्र पाएका थिए । यो कान्ड बाहिर आइसकेपछी अध्यक्ष सुदिप पन्तले निर्वाचन समितिको अधिकारमा आफूले केही नगर्न नसक्ने लाचारी प्रकट गरेका थिए ।

जालसाझी रूपमा निर्वाचित भएका न्याैपानले अहिले नेजाकाे उपाध्यक्ष पदको गरिमा नै भुलेका छन् । कदम कदाचित अध्यक्ष पद खाली हुन आएको खण्डमा कार्यवाहक अध्यक्ष भई संस्था चलाउनु पर्ने व्यक्ति अहिले कार्य समितिकै सदस्यको संयोजकत्वमा गठित समितिको सदस्य बसेका छन् । नेजाले सदस्य अग्नि चाैलागाईकाे संयाेजकत्वमा सदस्यता छानबिन समिति गठन गरेको थियो । तीन सदस्यीय समितमा राजेश कोइराला र सुजन पण्डित सदस्य रहेका थिए ।

पछिल्लो साताको नेजा बैठकले सदस्यता छानबिन समितिमा विकासराज न्यौपाने र दिनेश कार्कीलाई थप्ने निर्णय गरेको छ । पहिलो त उपाध्यक्ष जस्तो व्यक्ति सदस्यको संयाेजकत्वमा गठित समितकाे सदस्यमा बस्नु आफैमा पदीय मर्यादा भएन । अर्का तर्फ सदस्यता समवन्धी मुद्दा नेजाकाे सबै भन्दा विवादित विषय हो । यस्तोमा अबको अध्यक्षको रेसमा रहेका व्यक्ति छानबिन समितिमा आफ्नै प्रस्तावमा बस्नुलाई के भन्ने ।

हिजोका दिनमा नेजा, एनआरएन, जनसम्पर्क समिति लगायतका सङ्घ संस्थाका बारेमा दाेलाे काट्ने रामचन्द्र भट्टले अहिले अलिकति बचे खुचेकाे इज्जत कहाँ बेचे भन्ने प्रन्न उठेको छ । त्यस्तै आफूलाई संङ्घ संस्था चलाएको लामै र सफल अनुभव भएको दाबी गर्ने सुदिप पन्तको अध्यक्षतामा भएको बैठकले यसरी हाकाहाकी स्वार्थ बाझिने निर्णय कसरी गर्याे ? सियाटलमा निर्वाचित भए पछि नेजामा हुने सम्पूर्ण कार्यसमितिको मिटिङमा ‘सम्पूर्ण नेजा मेम्बरलाई मिटिङमा सहभागी हुन खबर गर्ने’ भनेर अध्यक्ष पन्त भनाइ पनि असत्य भएको छ । अहिले सम्म कुनै पनि नेजा सदस्यलाई यस्तो खबर आएको छैन । 

प्रतिक्रिया