अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 16:42

नेकपा सचिवालय बैठक – मन्त्री अधिकारीको निधनमा शोक प्रस्ताव पारित

बिआरटीनेपाल २०७५ फागुन १६ गते ८:१९ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटारमा बिहीबार बिहान बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका दिवंगत मन्त्री अधिकारीसहित सात जनाको निधन भएकोमा एक मिनेट मौनधारण गरेर श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका केन्द्रीय सदस्यसमेत रहनु भएका दिवंगत मन्त्री अधिकारीसहित सात जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उहाँहरुको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको बताउनुभयो । बैठकले मन्त्री अधिकारीको सम्मानमा देशभरका सबै पार्टी कार्यालयहरूमा बिहीबार पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी सबै पार्टी कार्यालयहरुमा तीन दिनसम्म शोक पुस्तिका राखिने निर्णय पनि गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । नेकपाले मन्त्री अधिकारीको श्रद्धाञ्जलीका लागि आगामी फागुन २३ गते बिहीबार पार्टी केन्द्रीय कार्यालयको तर्फबाट श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । सचिवालय बैठकले मन्त्री अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा परेर निधन भएका सातै जनाका परिवारको आर्थिक स्थिति र आवश्यक्तालाई समेत ध्यानमा राखेर उपयुक्त आर्थिक सहायता उपलब्ध गराउन पनि सरकारलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय