अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९ | Colorodo: 16:04

हेलिकप्टर दुर्घटनाका मृतकहरूको श्रद्धाञ्जली सभा भोलि हुने

बिआरटीनेपाल २०७५ फागुन १६ गते ८:१४ मा प्रकाशित

ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा हिजो भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत हुन समय लाग्ने भएपछि आजका लागि तय गरिएको श्रद्धाञ्जली सभा सारिएको छ । दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी र उहाँका सुरक्षा गार्ड अर्जुन घिमिरेको मात्र शव पहिचान भएको छ ।

बाँकी ५ जनाको सनाखतका लागि समय लाग्ने भएका कारण भोलि बिहान ८ देखि ११ बजेसम्मका लागि टुँडिखेलमा नै श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको नेकपाका महासचिव विष्णु पौडेलले बताउनुभयो । दुर्घटनामा ज्यान गुमाउने ५ जनाको शव पूर्ण रूपमा जलेका कारण पहिचानमा समस्या भएको प्रहरीले जनाएको छ ।

हिजो भएको दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । पहिचान हुन नसकेका अन्यको शव डीएनए परीक्षणको माध्यमबाट पत्ता लगाइने भएको छ । घटनामा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी लगायतको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

यसअघि आज दिउँसो तीन बजे श्रद्धाञ्जली सभा गर्ने योजना थियो । मृतकको शव ताप्लेजुङको सुकेटार विमानस्थलबाट आज दिउँसो काठमाडौँ ल्याइएको थियो । सेनाको एमआई १७ हेलिकोप्टरमार्फत शव ल्याइएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार हिजो साँझ दुर्घटनास्थलबाट डोरीको सहायताले ४ जनाको शव निकालिएको थियो भने ३ जनाको शव विहीवार बिहान सुकेटार विमानस्थलसम्म ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय