मन्त्री अधिकारी सहित हेलिकोप्टरमा सवार सबै ७ जनाको मृत्यु
ताप्लेजुङमा बुधबार अपरान्ह भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित सबै ७ जनाको मृत्यु भएको छ । ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकोप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सात जनाकै निधन भएको हो ।
घटनास्थलमा मृतक सबै सातजनाको शव भेटिएको खत्रीले जानकारी दिनुभयो । क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकोप्टर मन्त्री अधिकारीसहित ६ जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ लागेको थियो ।
दुर्घटनामा परी मन्त्री अधिकारी, पाइलट प्रभारक केसी, युवराज दाहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, आङछिरिङ शेर्पा, अर्जुनकुमार घिमिरे र वीरेन्द्र भोछिभोयाको निधन भएको हो । युवराज दाहाल पर्यटनमन्त्रालयका उपसचिव हुन् भने अर्जुन घिमिरे मन्त्री घिमिरेका सुरक्षा गार्ड हुन् । बीरेन्द्र श्रेष्ठ नागरिक उडड्यन प्राधिकरणका निर्देशक हुन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार हेलिकोप्टरको टायर पाहाडमा ठोक्किएर आगो लागेको बताईएको छ । अहिले घटनास्थलमा स्थानीयबासीसहित प्रहरी पुगेको छ । प्रहरीले ६ जनाको शव चिन्न नसकिने अवस्थामा फेला परेको बताएको छ भने स्थानीयबासीले आर्मीको बुटबाहेक अरु चिन्न सक्ने अवस्था नरहेको बताएका छन् ।
यसअघि, बि.सं ०६३ साल असोज ७ गते तत्कालीन बन राज्यमन्त्री गोपाल राई सहित २४ जना बिशिष्ट व्यक्ति सवार हेलिकोप्टर उपल्लो ताप्लेजुङको फले स्थित ढुङ्गे पहाडमा ठोकिएर दुर्घटनामा परेको थियो । सो दुर्घटनामा २४ जना व्यक्तिले ज्यान गुमाएका थिए ।
फक्ताक्लुङ गाउँपालिका–३ लिङखिमको मयाम सिरान स्थित तारेढुङ्गामा दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर फेला परेको थियो । दुर्घटनामा हेलिकप्टरको पुच्छरबाहेक सबै भाग जलेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । हेलिकोप्टर दुर्घटनामा परेपछि पाथीभरामा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्ज हवल्दार तेज कुमार अर्यालको नेतृत्वमा गएको सुरक्षाकर्मी र स्थानीयबासीको टोली उद्धारमा खटिएको थियो । उद्धार टोलीले मन्त्री अधिकारी सहित ४ जनाको शव लाई सुकेटार विमानस्थल लगेको छ ।
स्वर्गिय रवीन्द्र अधिकारी २०७४ साल चैत्र २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नु भएको थियो । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद रवीन्द्र अधिकारी आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता हुनुहुन्थ्यो । राजनीतिक बिश्लेषकहरुले उहाँलाई नेकपाको भविष्यको पार्टी अध्यक्ष र नेपालको प्रधानमन्त्री हुनसक्ने प्रवल सम्भावना रहेकोे नेताको रुपमा हेरेका थिए ।
बि.सं २०२६ बैशाख २२ गते कास्की जिल्लाको भरतपोखरी गाँउ विकास समिति जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिनुभएका अधिकारीले आफ्नो गाउँकै ब्रह्म ज्योति प्रा.बि शान्ति पंधेरा गैरागाँउबाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बिबरपाण्डेथुम बाट माध्यामिक शिक्षा हासिल गर्नु भएको थियो । सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न हुनुहुन्थ्यो ।
स्वर्गीय अधिकारी २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापतिमा निर्वाचित हुनु भएको थियो । २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नू भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएको थियो ।
त्रि.बि. बाट ब्यबस्थापनमा स्नातकोत्तर गर्नु भएका उहाँले संबिधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गर्नु भएको छ । बिगत दुई दशक देखि उहाँका सयौं अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन् ।
२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएपछि सार्बजनिक लेखा समिति, संबिधानसभामा राष्ट्रीय हितको संरक्षण समिति र युबाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गर्नु भएको थियो । संबिधानसभा निर्माणमा सुरक्षा र अन्तर्राष्ट्रिय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो । २०७० को चुनाब पछी संसदको बिकास समितिमा सभापति रहनु भयो । संसद्को बिकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहनुभएको थियो । स्वर्गीय अधिकारी २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो । लगातार तेश्रो पटक निर्वाचित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हुनुहुन्थ्यो । मन्त्री अधिकारीका श्रीमती र २ छोरा छन् ।
यसअघि ताप्लेजुङको घुन्सामा २०६३ साल असोज ७ गते श्री एयरलाईन्सको हेलिकप्टर दुर्घटना भएको थियो । घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा डा. हर्क गुरुङ लगायत २४ जनाको निधन भएको थियो । त्यसवेला दुर्घटनामा तत्कालीन वन तथा भुसंरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो ।
