अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

राष्ट्रिय हितका बिषयमा भारतसंग खुल्ला रुपमा छलफल गर्न प्रधानमन्त्री ओलीको निर्देशन

बिआरटीनेपाल २०७५ फागुन १४ गते ८:२१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका सम्बन्धमा भारतसंग खुल्ला रुपमा छलफल गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ । भारतसँग भएको महाकाली सन्धी कार्यान्वयनमा पनि जोड दिन सरोकारवाला निकायलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो । काठमाडौंमा बुधबारबाट शुरु हुने नेपाल र भारतका विज्ञहरूको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरूलाई मंगलबार निर्देशन दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीच छलफल गर्दा राष्ट्रिय हित हेर्नुपर्ने बताउनुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयले पञ्चेश्वर बहुउद्देशीय आयोजनाको कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउन सिंहदरबारमा आयोजना गरेको बैठकमा बोल्दै ओलीले नेपाल– भारत दुई देश स्तरीय छलफलमा देशको हीत पक्षमा खुलेर आफ्ना कुरा राख्न र त्यस अनुसारको तयारी गर्न अधिकारीहरुलाई निर्देशन दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीले २३ वर्षअघि महाकाली सन्धी अनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनु पर्ने १० घनमिटर प्रतिसेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएकोले यस विषयलाई गम्भिरताका साथ उठाउनु बताउनुभएको थियो । नेपालको पहिलो प्राथमिकता सन्धीको कार्यन्वयन रहेको उल्लेख गर्दै उहाँले सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनुपर्ने र सिरानबाट नहर बग्ने तर नेपालका खेत बाँझै रहने स्थिति अव रहन नहुनेमा जोड दिनुभयो ।

बि.सं. २०५२ माघ १९ गते भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउने सम्झौतालाई कार्यन्वयन गराउन भारतलाई तत्पर गराउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । बैठकमा ऊर्जामन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णुप्रसाद रिमाल परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई लगायत नेपाल सरकारका अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय