
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान दुई तिहाईको नेकपा नेतृत्वको सरकारले जनअपेक्षा अनुसार गति लिन नसकेको बताउनुभएको छ । जनताको सरकारप्रतिको बुझाइ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जानकारी भएको प्रचण्डले बताउनुभयो । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताले दुई तिहाईको सरकार गठन गर्दा पनि अनुभूत हुनेगरी काम हुन नसकेको बताउनुभएको हो । उहाँले चुनावमा गरेका बाचा पूरा नहुँदा जनताले दिने प्रतिक्रिया नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र आफूलाई पनि ज्ञात भएको उल्लेख गर्नुभयो ।
दुई तिहाईको सरकार भएका बेला जनताले विकाश निर्माण र सुशासनको अपेक्षा गरेपनि त्यसो हुन नसकेको उहाँको भनाई थियो । प्रचण्डले केही राम्रा काम भए पनि जनताले अनुभूत गर्नेगरी काम हुन नसकेको कुरा प्रधानमन्त्रीले पनि बुझेको बताउनुभयो । पूर्वाधार निर्माण, बृद्धभत्ता, शिक्षा, स्वास्थ्य, रोजगारका काम जनताले आफ्नो सरकार आयो भन्ने सोच्ने, भोग्ने र अनुभूत गर्नेगरी अबको बजेटमा व्यवस्था गर्न प्रधानमन्त्री र आफूबीच कुरा चलिराखेको प्रचण्डले उल्लेख गर्नुभयो ।
एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दावी गर्नुभयो । तर, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने काम कछुवा गतिमा चलेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । आयोजित कार्यक्रमका वीच अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको गोरखास्थित गाउँमा बन्न लागेको स्मृतिपार्कको मंगलबार शिलान्यास गर्नुभयो । बारपाक सुलिकोट गाउँपालिका–८, जराङस्थित रम्तेलको घर भएको ठाउँमा सभाहलसहितको पार्क बनाउन लागिएको हो । स्थानीय व्रह्मचारिणी निमाविमा कक्षा–४ मा पढ्दै गरेका रम्तेलको २०५२ साल फागुन १४ गते प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
