नेपाली चिकित्सा रसायन शास्त्र संघको तेस्रो वार्षिक सम्मेलन पोखरामा हुने भएको छ । आउँदो फागुन १८ र १९ गते हुने गइरहेको अन्तर्राष्ट्रिय स्तरको सम्मेलनमा देश र विदेशबाट गरी करिब ३ सय भन्दा बढि चिकित्सा रसायन शास्त्रसँग सम्बन्धित अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरुको सहभागिता रहने छ ।
चिकित्सा रसायन शास्त्रको प्रबद्र्धन गर्दै त्यसको उच्चतम अभ्यास मार्फत जनस्वास्थ्य सम्बन्धि समस्या निदानमा अभिप्रेरित गर्ने सम्मेलनको लक्ष्य रहेको आयोजक समितिका सचिव एवं मणिपाल शिक्षण अस्पताल जीव रसायन शास्त्र विभागका प्रा डा. दयाराम पोखरेलले जानकारी दिनुभयो ।
सम्मेलनमा ‘भारत, थाइल्याण्ड, मलेसिया र नेपालकै गरि ६ जना आमन्त्रित विशिष्ट प्राध्यापक र अनुसन्धानकर्ताहरुले धारणा प्रस्तुत गर्ने बताईएको छ । सम्मेलनमा नेपाल र भारतका प्राध्यापक, अनुसन्धानकर्ता, प्रशिक्षार्थी गरी ३२ जनाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सुक्ष्म जैविक संक्रमण, वंशानुगत कारण र कोषिका भित्र हुने असामान्य गतिविधिले मानव शरीरका तरल पदार्थहरु जस्तै रगत, पिशाब, रयाल इत्यादिमा उत्पन्न हुने रासायनिक परिवर्तनको कारण पत्ता लगाई उपचार विधिमा सहज बनाउने आधुनिक स्वास्थ्य उपचार पद्धतीको महत्वपूर्ण भाग हो ।
गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सहयोग गर्न समेत सम्मेलन पोखरामा आयोजना गरिएको आयोजक समितिले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलन फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा आयोजना हुँदैछ ।
