अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५९ | Colorodo: 03:14

आइसीसी महिला ट्वेन्टी–२० विश्वकप छनौटमा नेपालको तेस्रो जित, हङकङ ४ विकेटले पराजित

बिआरटीनेपाल २०७५ फागुन १२ गते ८:४९ मा प्रकाशित

आइसीसी महिला ट्वेन्टी–२० विश्वकप क्रिकेटको छनोट खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । आइतबार थाइल्यान्डको बैंककमा सम्पन्न खेलमा हङकङले दिएको ६३ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अप्सरी बेगमको २४ रन तथा सरिता मगरको अविजित १६ रन महत्वपूर्ण रह्यो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाएको थियो । टी–२० महिला विश्वकप क्रिकेट एसियाली समूहको छनोटमा नेपालको यो तेस्रो जित हो । आयोजक थाइल्यान्डसित पराजित भएको नेपालले मलेसिया, युएई र हङकङलाई हराएको हो । यो जितसँगै नेपालले अंकतालिकाको तेस्रो स्थानमा चीनसँग बराबरी गरेको छ । नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । एक खेल बढी खेलेको चीनको पनि ६ अंक नै छ ।

एक खेल बढी खेलेको युएई ८ अंकसहित दोस्रो स्थानमा रहँदा समान ८ अंक जोडेको थाइल्यान्ड रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ । छनोट प्रतियोगिताबाट ग्लोबल छनोटमा पुग्न नेपालले यो प्रतियोगिता जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया