अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

पत्रकार महासंघमा अव प्रत्यक्ष निर्वाचन मार्फत् नेतृत्व चयन हुने

बिआरटीनेपाल २०७५ फागुन १० गते ८:३४ मा प्रकाशित

नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशनले प्रत्यक्ष नेतृत्व चयन गर्ने गरी विधान संशोधन गरेको छ । पोखरामा विहीबार र शुक्रबार भएको साधारणसभा तथा विधान अधिवेशनले केन्द्र, प्रदेश र जिल्ला शाखा समेतको निर्वाचन प्रत्यक्ष रुपमा सम्बन्धित शाखाबाट नै गर्ने गरी विधान संशोधन गरेको हो ।

साधारणसभाले केन्द्रीय समितिमा १ जना महिला उपाध्यक्ष र १ केन्द्रीय सदस्य थप गरी ४९ सदस्यीय बनाउने व्यवस्था समेत विधानमा गरेको छ । साधारणसभाले १७ बुँदे पोखरा घोषणापत्र समेत जारी गरेको छ । घोषणपत्रमा केन्द्र, प्रदेश र स्थानीय सरकारमा प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्नुपर्ने, प्रेस स्वतन्त्रताको ग्यारेण्टीसहित कानुनको निर्माण, स्वरोजगारमूलक र सामुदायिक सञ्चार माध्यमलाई न्यूनत्तम पारिश्रमिक बाध्यकारी नबनाउन आग्रह गरिएको छ ।

त्यस्तै लोककल्याणकारी विज्ञापनलाई दोब्बर बनाउन, प्रेस पास वितरणलाई संघीयता बमोजिम विकेन्द्रीकरण गर्न, विज्ञापनलाई समेत प्रदेश र स्थानीय सरकारमा पनि समानुपातिक रुपमा स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन, अनलाईन सञ्चारमाध्यमको प्रेस काउन्सिल मार्फत् नियमन गर्न, अनलाईन सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि विधुतीय कारोबार ऐन बमोजिम कठोर कार्वाही हुने अवस्था रोक्नुपर्ने लगायतका माग गरिएको छ ।

घोषणापत्रमा पत्रकारको क्षमता अभिबृद्धिका साथै अध्ययन अनुसन्धानमा सहयोग पुर्याउन प्रदेशस्तरमा सञ्चार प्रतिष्ठान स्थापना, पत्रकार महासंघमा आवद्ध सबै सदस्यलाई दुर्घटना विमा र स्वास्थ्य विमाको व्यवस्था मिलाउने, छापामाध्यमलाई जस्तै रेडियोलाई पनि रोयल्टी र नविकरण शुल्क छुट हुनुपर्ने बताइएको छ ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन बर्ष २०१९ र पोखराको पर्यटन प्रबद्र्धनका लागि सहयोग गर्न सञ्चारमाध्यमलाई आह्वान गरिएको छ । अधिवेशनमा देश भरबाट केन्द्रीय सभासदहरु कार्यक्रममा सहभागी रहेका थिए । त्यस्तै साधारणसभामा साना र स्वरोजगार मूलक सञ्चारमाध्यमको संरक्षण, प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूत हुने कानुन बनाउने लगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय