अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 11:08

ट्रम्प– किम बैठकपूर्व उत्तर कोरियाली अधिकारी चीनमा

बिआरटीनेपाल २०७५ फागुन ४ गते ८:४४ मा प्रकाशित

अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु चीन भ्रमणमा गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक यही फब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा गर्ने तय भइसकेको छ ।

शिखर बैठक तय भई तयारी भइरहेकै बेला ११ सदस्यीय उत्तर कोरियाली उच्च अधिकारीहरुको चीन भ्रमणलाई निकै महत्व र चासोका साथ हेरिएको छ । शिखर बैठकको तयारीका लागि भियतनाम जाने क्रममा सो टोली चीन पुगेको दक्षिण कोरियाको समाचार संस्था योन्हापले जनाएको छ ।

श्रोत नखुलाई लेखिएको सो समाचारमा उत्तर कोरियाली टोलीले चिनियाँ उच्च अधिकारीहरुसँग शिखर बैठककै बारेमा परामर्श गरेको उल्लेख गरिएको छ । अमेरिका र उत्तर कोरियाको शिखर बैठकलाई दक्षिण कोरिया र चीनले नजिकबाट नियाल्दै र कतिपय सहजिकरण पनि गरिदिँदै आएका छन् ।

ट्रम्प र किम बीच यसअघि पहिलो शिखर बैठक गत बर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । पहिलो शिखर बैठकमा उत्तर कोरियाले पूर्ण रूपमा निःशस्त्र हुने घोषणा गरेपनि त्यसको पूर्ण कार्यान्वयन हुनेमा कतिपयले अझै पनि आशंका गरिहेका छन् । अव हुन लागेको दोस्रो शिखर बैठकमा ट्रम्पले यो आशंकालाई न्युनिकरण गर्दै थप विश्वास र सहकार्यको वातावरण बनाउने अपेक्षा गरिएको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू