नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले समृद्धिको अभियानमा अवरोध आएको बताउनुभएको छ । एकमहिने जनसंवाद यात्राअन्तर्गत आज पोखराको तालचोकमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले इतिहासको कथा सुनाएर समृद्धि नआउने बताउनुभयो । नेताहरुले क्षमता विकास गर्न सक्नुपर्ने र त्यसो हुन नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । आफूले केही गर्न नसक्ने शीर्ष नेताहरुको शैलीले देशको समृद्धि अभियान अवरुद्ध भएको भट्टराईको भनाई छ ।
नेताहरुलाई कुर्सी ओगटेर देशलाई पछाडि नधकल्न आग्रह गर्दै उहाँले नेताहरुमा विकास र समृद्धिको आधारभूत ज्ञानको कमी भएको त हैन भनी शंका व्यक्त गर्नुभयो । आगामी दशक विकासको यात्रा महत्वपूर्ण रहेको बताउँदै नेताहरुले यसलाई ध्यान नदिँदा मुलुक थप पछाडि धकेलिएको उहाको आरोप थियो ।
क्रान्तिका नायकहरु सत्तामा पुगेपछि विचलित भएकामा उहाँले गुनासो समेत पोख्नुभएको छ । लोकतन्त्र स्थापनापछि नयाँ राजनीतिक संस्कार निर्माण गर्नुपर्नेमा भट्टराईले जोड दिनुभयो ।
