नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रह्यो । बैठकमा पदाधिकारी र सदस्य स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि बन्ने प्रावधान राख्ने र नराख्ने बिषयमा विवाद देखिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा माघ १० गतेदेखि केही दिन रोकिदै चल्दै आएको बैठकमा बुधवारदेखि यो विवाद उत्कर्षमा पुगेको छ ।
विधानमा पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू महाधिवेशन प्रतिनिधि र पूर्वपदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति, संघीय संसदका सदस्य तथा उम्मेदवार, प्रदेशसभाका सांसद र सांसदका उम्मेदवार स्वतः क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्था छ ।
महासमिति बैठकमा ५० भन्दा बढी जिल्ला सभापतिहरूले यो प्रावधान संशोधन गरी समानुपातिक तथा समावेशी सिट दोहोर्याउन नहुने व्यवस्था विधानमा राख्न प्रस्ताव दर्ता गरेका थिए । देउवा र पौडेलले यी दुवै माग केन्द्रीय कार्यसमिति बैठकबाट सम्बोधन हुने भनी प्रतिबद्धता जनाएपछि मात्रै विधान महासमिति बैठकबाट पारित भएको थियो । तर देउवा आफूले जनाएको प्रतिबद्धतालाई लत्याउँदै विधानतः चल्ने अडान राखेपछि समस्या सिर्जना भएको हो ।
विधान अनुसार महासमितिका २५ प्रतिशत सदस्यको हस्ताक्षरसहित प्रस्ताव दर्ता गर्नुपर्ने हुन्छ । जुन कुराले देउवा पक्षलाई बहस गर्ने बलियो मसला मिलेको छ । तर त्यतिबेला देउवा र पौडेलले जिल्ला सभापतिका दुवै माग केन्द्रीय कार्यसमिति बैठकबाट सम्बोधन हुने भनी प्रतिबद्धता मात्र जनाउनुभएको थियो । त्यही विषयलाई लिएर व्यक्ति प्रधान कि विधान भन्दै देउवा पक्षले अडान लिएको छ । आजको बैठकमा पनि सहमति जुट्न नसकेको बताईएको छ ।
