अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

नेकपा नेता भरतमोहनको स्वास्थ्यमा उल्लेख्य सुधार, क्याबिनमा सार्ने तयारी

बिआरटीनेपाल २०७५ माघ २८ गते ८:२४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँ उपचाररत ह्याम्स अस्पतालका अनुसार अधिकारी अहिले सामान्य हिँडडुल गर्न सक्ने हुनुभएको छ ।

अधिकारीलाई भोलि नै आईसीयु (सघन उपचार कक्ष) बाट क्याबिनमा सारिन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि अधिकारीलाई चार दिनअघि धुम्बाराहीस्थित ह्याम्स् अस्पताल भर्ना गरिएको थियो । यसअघि उहाँ गत माघ २ गते ललितपरस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो । तर, करिब एक महिना उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि अधिकारीलाई ह्याम्समा लगिएको थियो ।

अधिकारीको स्वास्थ्यमा पहिलेको तुलनामा निकै सुधार आएको उपचारमा संलग्न चिकित्सक डा. राजु पंगेंनीले जानकारी दिनुभयो । पंगेनीका अनुसार अधिकारीलाई मुटु तथा फोक्सोमा जटिल समस्याका साथै न्युमोनिया भएको थियो । सुरुमा उहाँलाई सास फेर्न गाह्रो भएको थियो भने छाती तथा मुटुमा गम्भीर समस्या देखिएको थियो । त्यस्तै, मिर्गौलाले राम्ररी काम गरेको थिएन र फोक्सोमा पनि गम्भीर संक्रमण देखिएको थियो ।

अधिकारीको दमको समस्या वंशाणुगत नै भएको चिकित्सकहरुले बताएका छन् । उहाँका दाइ पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई पनि दमको समस्या थियो । त्यस्तै, परिवारका अन्य सदस्य यो समस्याबाट पिडित छन् । ह्याम्समा डा. अर्जुन कार्की, डा. मनबहादुर केसी लगायतले अधिकारीको स्वास्थोपचार गरिररहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय