सांसद राजेन्द्र लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा तोकिए भन्दा बढी बजेट गएको भन्दै गुनासो गर्नुभएको छ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बोल्दै सांसद लिङ्देनले तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत झापाको केचनाकबल गाउँपालिकामा मागे भन्दा १० गुणा बढी बजे गएको भन्दै अचम्मको गुनासो गर्नुभएको छ ।
झापा – ३ बाट निर्र्वािचत राप्रपा सांसद लिङदेनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिलिङ पठाएर कार्यक्रम मागेको बताउनुभयो । ‘गाउँपरिषद्ले योजनाहरु छनोट गरेर पठाएको थियो । तर, प्राथमिकताको अन्तिम सूचीमा रहेको कार्यक्रम, जहाँ १० लाख माग गरिएको थियो । मन्त्रालयले १ करोड १० लाख पठायो ‘ उहाँले गुनासो गर्नुभयो । ‘हामीले यस्तो किन भयो भनेर मन्त्रीजीलाई सोध्यौं ।
गापा(गाउँपालिका)ले पनि आफ्नो निर्णय स्मरण गरायो । मन्त्रीज्यूले हेर्छु भन्नुभयो । अहिलेसम्म हेर्नु भएन’ लिङदेनले भन्नुभयोे, ‘किन हेर्नु भएन भनेर बुझ्दा कार्यकर्ताको सिफारिसका आधारमा योजना छनोट भएको रहेछ ।’ उक्त योजनामा १ करोड १० लाख खर्च गर्ने ठाउँ नै नभएको सांसद लिङदेनको दाबी छ । सांसद लिङदेनले भन्नुभएको छ , ‘मैले त यो संसदमा संघीयतामा विमती राख्ने म मात्र छु होला, संघीयतालाई व्यवहारमै खतम गर्ने मन्त्री नै हुनुहुँदोरहेछ । अब संगत गर्नुपर्ला ।’
सांसद लिङदेनले झापा जिल्लामा देशको धेरै बजेट गयो भन्ने प्रचार भएको भन्दै खण्डन समेत गर्नुभएको छ । ‘म त्यो निर्वाचन क्षेत्रको प्रतिनिधि हुँ, जहाँ केन्द्रीय तहबाट नयाँ कार्यक्रमका लागि एक रुपैयाँ पनि गएको छैन’ उहाँले भन्नुभयोे, ‘विगतमा सुरु गरेका बहुबवर्षीय योजनाहरु रोक्ने काम भएको छ ।’
लिङदेनले संसदमा आफू एक्लो प्रतिनिधि भएका कारण आफ्नो क्षेत्रका जनतालाई उपेक्षा गर्ने, दुःख दिने काम नगर्न सरकारलाई चेतावनी समेत दिनुभयो । आवश्यक परे साच्चै अनसन बस्ने सांसद लिङलेनको भनाई छ ।