अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 09:51

‘पत्रकार जमाल खाशोग्जीको हत्या साउदी अधिकारीको योजनाअनुसार’ –  राष्ट्रसंघ

बिआरटीनेपाल २०७५ माघ २५ गते ३:४६ मा प्रकाशित

संयुक्त राष्ट्रसंघले साउदी अरेबियाका पत्रकार जमाल खाशोग्जीको हत्या साउदी अरेबियाकै अधिकारीको योजना अनुसार भएको जनाएको छ । संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको अनुसन्धानले पत्रकार खाशोग्जीको हत्या साउदी अधिकारीको तयारी तथा योजनावद्ध नियतबाटै भएको निष्कर्ष निकालेको हो । राष्ट्रसंघको टोलीले अनुसन्धानको निष्कर्ष सार्वजनिक गर्दै साउदी अरेबियाकै अधिकारीको संलग्नतामा हत्या भएको जनाएको हो ।

साउदीका पत्रकार खाशोग्जीको हत्या गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएको थियो । संयुक्त राष्ट्रसंघीय टोलीले सरकारी अधिकारीको निर्देशन र योजनामा खाशोग्जीको हत्या भएको निष्कर्ष निकालेपछि साउदी उच्च अधिकारीको संलग्नताको शंकामा बल मिलेको छ ।

संयुक्त राष्ट्रसंघीय अनुसन्धान टोलीकी अनुसन्धानकर्ता एगनेर क्यालामार्डले जेनेभामा अनुसन्धान प्रतिवेदन जारी गर्दै टर्की पुगेर गरिएको अनुसन्धानले फेला परेका प्रमाणले खाशोग्जीको हत्या सरकारी अधिकारीको संलग्नता र पूर्वयोजना अनुसार भएको देखिएको बताउनुभएको छ ।

तीन विशेषज्ञसहितको टोली जनवरी २८ देखि फेब्रुअरी ३ सम्म टर्कीमा थियो । तर हत्याको स्पष्ट उद्देश्य के थियो भन्ने यकिन गर्न नसकिएको उहाको भनाई छ । पत्रकार खाशोग्जीको हत्या साउदी अरेबियाका उच्च अधिकारीको निर्देशनमा भएको आरोप यसअघि पनि लाग्दै आएको थियो । साउदीका शक्तिशाली युवराज मोहम्मद बिन सलमानको निर्देशनमा हत्या भएको आरोप लाग्ने गरेको छ । तर साउदी अरेबियाले भने खाशोग्जीको हत्यामा युवराज सलमान वा राजपरिवारका अरु कुनै पनि सदस्यको संलग्नता नरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू