अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४१ | Colorodo: 09:56

थाई राजकुमारी उबोलरतनाद्वारा प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणा

बिआरटीनेपाल २०७५ माघ २५ गते ३:३९ मा प्रकाशित

थाईल्याण्डमा आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो । थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएको घोषणा गर्नुभएको हो ।

थाई राजतन्त्रलाई परम्परागतरूपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्र विरुद्ध आलोचना गर्न पनि पाईदैन । राजतन्त्रले मुलुकमा राजनीतिक संकट उत्पन्न भएका बखत भने हस्तक्षेप गर्ने गरेको छ । उबोलरतनाको उम्मेदवारीले मार्च २४ तारिखको चुनावमा नयाँ तरङ्ग नै ल्याइदिएको छ । खासगरी, पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको राजनीतिक प्रभावका कारण राजकुमारीले उम्मेदवारी दिएको बताइन्छ ।

थाइल्यान्डमा थाक्सिन समर्थक ’राता’ टिसर्टधारी र राजावादी ’पहेंला’ टिसर्टधारीबीच परम्परागत दुश्मनी रहँदै आएकामा राजकुमारीको उम्मेदवारीले दुबैलाई एक ठाउँमा ल्याउने सम्भावना बढेको छ । यी दुई समूहबीचको डरलाग्दो हिंसाले गत दशकमा थाइल्यान्डको राजनीतिलाई अस्थिर बनाएको थियो । आम सर्वसाधारणसँग घुलमिल हुन अभिरुचि राख्ने उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्याग्नुभएको थियो । तर जेन्सेनसँग उहााको सम्बन्ध विच्छेद भइसकेको छ । त्यसपछि उहाँ थाइल्यान्ड फर्किनुभएको थियो । थाइल्यान्ड फर्किएपछि पनि उहाँलाई राजपरिवारकै सम्मानित सदस्यका रुपमा लिने गरिएको थियो ।

थाइल्यान्डमा सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता प्रधानमन्त्रीका रुपमा कुनैपनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू