कविता
तिमीलाई पहिलो पटक देख्दा खासै केही भेटिएन
र त तिम्रो अस्तित्व नि झल्किएन
जब तिम्रो अनुपस्थितिमा तिम्रा पहिलाका डोबहरू देखिन थाल्यो
तब लाग्यो तिमी एक, एकदमै साँगुरो युगको
केवल एक शब्द को भरमा संसार चकित पार्ने सूचना अनि प्रविधि
आधुनिक समाज परिवर्तनका लागि परेको एक युग साधक
सालिनता र मिलनसारिताको प्रतिमा
हो ,यस्तै तरिकाले बुझे तिमीलाई मैले
आधुनिक युगको दास बनेका मानव समाजमा रुमलेर पनि
कति पनि आफ्नो गन्तव्य नभुलाई अघि बढेका तिमी
वास्तवमा तिम्रै महानता, तिम्रै उचाइ भन्दा नि धेरै उच्चाईमा छ
तिम्रो बोलीको प्रभावले तिम्रो व्यवहारमा मात्र होइन
तिम्रो सिपहरूमा नि उतिकै छछल्केका छन्
विज्ञान र प्रविधिमा प्रगतिको उच्चतममा पुगे पनि
तिमी भित्र अलिकति पनि अहम छैन ,घमन्ड छैन
बरु, छ त आत्मविश्वास अनि अटुट साहस
प्रविधिको क्षेत्रमा तिम्रो योगदान नियाली हेर्दा
लाग्छ, सैसवकाल देखि तिम्रो अमूर्त सिपहरू चलमलाएका हुन
तिमीभित्रको विश्वास साकारतामा परिवर्तित भएका छन्
र त तिम्रो त्यो हँसिलो अनुहारमा झल्केका मुस्कानका लहरहरू
शान्त छन् ,विश्वस्त छन् अनि निश्चल छन्
तिम्रो बोल्ने हरेक बोलीमा मिठास छ
अनि ,
अनि तिमीले हेर्ने दृष्टिमा सुनौलो सपना छ
लम्केका ती तिम्रा पदचापहरूले बस मात्र संस्कृतिका डोबहरू छोडेका छन्
अनि तिमीले गर्ने हरेक यात्राले एउटा नौलो गोरेटो तय गरेको छ
डाँडाकाँडा ,मरुभूमि ,हराभरा,खेतका गह्रा, सहरका कुना कुनामा
अनि गाउँ गाउँको पखेरीमा ,तिम्रो पाइलाहरू दोहोरिएका छन्
प्रकृतिको सुन्दर छटामा आफूलाई पोख्याएर हिँड्ने तिम्रो त्यो पौरख देखेर
अति स्वच्छन्दले यायावर गर्ने तिम्रो त्यो अत्ति मिलनसार स्वभाव देखेर
मलाई पनि तिमी जस्तै बन्ने जाँगर चलेको छ
तिम्रो ती सुन्दर भावबाट प्रेरित भई
दरिलो साहस अनि जाँगरका रश्मिहरू झुल्केका छन् मनको तकताभित्र
अति तिमी जस्तै बनेर लम्कने जाँगर पलाएको छ
कलियुगमा पनि युग पुरुष बनेर हिँड्ने तिमी
अनि तिम्रो पाइलाहरू कयौ्को मन जित्ने तिम्रो शालिनता
नुतन प्रविधिको दास बनेकाहरू
तिम्रो भक्त बनी रहेका छन्
शायद रोग ,भोक अनि अविकसित भएर रुमलेका बेला
हो, तिमी जस्तै युग पुरुषको आवश्यकता छ
अनि तिम्रो साहसिला पाइलाहरूको खाँचो छ
संसार भुलाई दिने एक मुस्कानको खाँचो छ।।
==================
रश्मिला कवाङ “रश्मि”
मुलढोका, भक्तपुर
हाल: जर्मनी
================