नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा बादलले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरका बालिका निर्मला पन्तका हत्यारा सिंहदरवारमै भएपनि नछाडिने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसंगको सवाल जबाफ सत्रमा सहभागी हुँदै गृहमन्त्री थापाले सो कुरा बताउनुभएको हो ।
बैठकमा सांसदहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा संलग्नलाई समात्न नसकेको भन्दै चर्को आलोचना गरेका थिए । सांसदहरुले निर्मला प्रकरणमा संलग्नलाई सरकारले नै जोगाउन खोजेको आरोप समेत लगाएका छन् ।
नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला प्रकरणमा सरकार असफल भएको भन्दै अपराधीलाई पनि जोगाउन लागेको आरोप लगाउनुभयो । निर्मलाका हत्यारा बालुवाटारमा छन् कि सिंहदरबारमा छन् ?’, भन्दै प्रश्न गर्नुभएका उहाँले चाँडो भन्दा चाडो हत्यारालाई पक्राउ गर्न माग गर्नुभयो ।
सांसदहरुको प्रश्नको उत्तर दिँदै गृहमन्त्री थापाले निर्मला हत्या प्रकरण टुंगोमा पुग्न लागिसकेको बताउँदै अपराधी बालुवाटारमै भए पनि नछाड्ने बताउनुभएको हो । थापाले अपराधीहरुलाई कुनै पनि हालतमा छाड्न नसकिने बताउँदै प्रहरीले यसको गम्भीर अनुसन्धान अहिले पनि जारी राखेको जानकारी सांसदहरुलाई गराउनुभयो ।
मन्त्री थापाले नेपाल प्रहरी अपराध अनुसन्धानमा ९६ प्रतिशतसम्म सफल भएको बताउँदै निर्मला प्रकरणमा पनि असफल हुन सवालै नरहेको दाबी समेत गर्नुभएको छ ।