अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 23:41

क्यानको निलम्वन फुकुवा हुँदैः खेलकुद मन्त्री विश्वकर्मा

बिआरटीनेपाल २०७५ माघ २२ गते ५:३३ मा प्रकाशित

युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले छिटै नेपालक्रिकेट परिषद्(क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताउनुभएको छ । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्धा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढंगले ‘क्यान’ माथिको निलम्बन फुकुवा हुने मन्त्रीविश्वकर्माले बताउनुभयो । आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उहाँले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्धा हालेकाले निलम्बन फुकुवा गर्न ढिला भएको बताउनुभयो ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दाबी गर्नुभयो । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघ(क्यान) मा देखिएको विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । साक्षात्कारमा मन्त्री विश्वकर्माले आइसिसीमार्फत नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिक पनि ‘क्यान’ को निलम्बन फुकवापछि प्राप्तहुने बताउनुभयो ।

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नु अघि ‘क्यान’ले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक २५ हजार र ‘सी’ श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीयसिरिज जितेर आएका खेलाडिलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मानगर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले जानकारी दिनुभयो । खेलाडिलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले खेलेर भविष्य सुनिश्चितगर्न सक्ने अवस्थामा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्रिकटकै प्रसंगमा मन्त्री विश्वकर्माले मुलपानी क्रिकेट मैदान साँढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिने दावी गर्नुभयो । आफू मन्त्री हुनुअघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया