अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३३ | Colorodo: 11:48

अमेरिकासामू भारतको कुटनीतिक विरोध

बिआरटीनेपाल २०७५ माघ २१ गते ४:२२ मा प्रकाशित

अमेरिकामा एउटा नक्कली विश्वविद्यालयमा भर्ना हुन पुगेका १२९ भारतीय विद्यार्थी समातिएपछि भारतले कूटनीतिक विरोध जनाएको छ ।अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी होमल्याण्ड सेक्युरिटी मन्त्रालयका गुप्तचरहरूले पेटू–स्टे भनिने आप्रवासनसम्बन्धी गलत कार्य पत्ता लगाउन कागजमा सीमित फर्मिङ्टन विश्वविद्यालय मिसिगन राज्यमा रहेको भनी विज्ञापन निकालेको थियो । भर्ना हुन पुगेका विद्यार्थीहरूलाई उक्त विश्वविद्यालय अवैध हो भन्ने थाहा रहेको सरकारी अभियोजनकर्ताको दाबी छ ।

तर भारतले भने ती विद्यार्थीहरूलाई झुक्याइएको जनाएको छ । यसअघि पनि अमेरिकामा नक्कली विश्वविद्यालयको विज्ञापन गरिएका थिए । सन् २०१६ मा २१ जना त्यसरी नै समातिएका थिए । तीमध्ये केही चिनियाँ र कोही भारतीय थिए ।

फर्मिङ्टन विश्वविद्यालयको वेबसाइटमा कक्षामा पढिरहेका विद्यार्थीहरूको तस्वीर, पुस्तकालय र हरियो चौरसहितको प्रांगण देखाइएको थियो । स्नातकभन्दा तल्लो तहका विद्यार्थीका लागि वर्षको ८ हजार ५ सय डलर ट्युसन फि र स्नातक तहका विद्यार्थीका लागि ११ हजार डलर तोकिएको थियो । उसको विभिन्न कार्यक्रमहरू उल्लेख गरिएको क्यालेन्डरसहितको झुटो फेसबुक पेज पनि थियो । तर, गत साता प्रकाशित अदालती कागजातहरूमा सो विश्वविद्यालयका कर्मचारीहरू आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय आइसीइका गोप्य एजेन्टहरू रहेको पाइएको थियो ।

सुरुमा विद्यार्थी भिसामा अमेरिका प्रवेश गरेर त्यहीँ बसिरहन चाहने विदेशीहरूलाई समात्ने उद्देश्यले सन् २०१५ मा उक्त नक्कली विश्वविद्यालय खडा गरिएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू