अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 23:39

चितवनमा धुर्मुस–सुन्तलीको भव्य स्वागत

बिआरटीनेपाल २०७५ माघ २० गते ५:५० मा प्रकाशित

गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण घोषणा गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई आज चितवनमा भव्य स्वागत गरिएको छ । भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागर्त यालीका साथ धुर्मुस सुन्तली लाई रङ्गशाला निर्माणस्थल रामपुर र्पुयाइएको थियो। रङ्गशाला निर्माणस्थलमा आयोजित रङ्गशालासम्बन्धी गृहजिल्ला घोषणा एवं डिपिआर निर्माण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष सीतारामले जिल्लामा बन्ने रङ्गशाला नेपालको गौरव हुने बताउनुभयो ।

सो अवसरमा उहाले चितवन र समग्र नेपाललाई नै विश्वसामु चिनाउन रङ्गशाला महत्वपूर्ण हुने बताउनुभयो । धुर्मुुसले तोकेकै समयमा रङ्गशाला निर्माण सम्पन्न गरिने जानकारी गराउनुभयो । फाउण्डेशनका उपाध्यक्ष कुञ्जनाले सबैको साथ र सहयोगका लागि अनुरोध गर्नुभयो । सरकारले यो महान् अभियानमा आफूहरुलाई सहभागी गराएको भन्दै उहाँले सबैको साथ र सहयोगबाट रङ्गशाला बन्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायण दाहालले अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न जिल्लाका राजनीतिक दल सक्रियताका साथ लाग्ने बताउनुभयो । उहाँले देशमा विकास निर्माणको युग शुरु भएको भन्दै त्यसमा हातेमालो गर्न सबैलाई आह्वान गर्नुभयो । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रङ्गशाला निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले काङ्ग्रेस प्रतिपक्ष दल भए पनि विकास निर्माणमा सधैँ हातेमालो गर्दै जाने बताउनुभयो ।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनसँग सम्झौता भएपछि उत्साहित भएको बताउनुभयो । रङ्गशाला निर्माणका लागि सरकारी तवरबाट हुने सबै काम महानगरले गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभएको छ । सो अवसरमा विभिन्न दाताहरुले १ करोड रुपैयाँ भन्दा बढी सहयोगको घोषणा गरेको महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी गराउनुभयो ।

कार्यक्रममा आजैदेखि रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु भएको घोषणा गरिएको थियो । दुई वर्ष्भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । रङ्गशालामा क्रिकेटका अतिरिक्त अन्य खेलहरु खेल्न सकिनेछ । रङ्गशालालाई एकेडेमीका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । भरतपुर महानगरपालिका–१५ मा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिगाहा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया