दमक, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनु भएको छ । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले चौतर्फी तीव्रगतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन ।” झापाको दमक नगरपालिकाले यहाँ आजदेखि आयोजना गरेको पाँच दिने प्रदेश स्तरीय बृहत् बालमहोत्सवको उद्घाटन गर्दै प्रम ओलीले वर्तमान सरकारको एक मात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्ने जोड दिनुभयो ।
देशको अहिलेको आवश्यकता पूरा गर्न सरकार स्पष्ट र जिम्मेवारीका साथ अगाडि बढेको उल्लेख गर्दै उहाँले विकास र समृद्धिको महान् यात्रामा अब सबै नेपाली एक ढिक्का हुनुपर्ने खाँचो रहेको औँल्याउनुभयो । उहाँले देशको साझा लक्ष्यप्राप्तिका लागि कसैले बाधक बन्न नहुने धारणा राख्नुभयो ।
सरकारले ‘सुखी नेपाली र समृद्धि नेपाल’को परिकल्पना सरकारको लक्ष्य मात्र नभएर देशकै योजना भएको उहाँको जिकिर थियो । प्रधानमन्त्री ओलीले देशको विकाससँगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रुपान्तरितको दिशामा अगाडि बढेको छ भन्नुभयो ।
उहाँले बालमहोत्सवले बालबालिकाभित्रका लुकेका प्रतिभालाई उजागर गर्ने अवसर भएको बताउनुभयो । यस्ता महोत्सव आफ्ना क्षेत्रको पहिचानसँगै देशको आर्थिक विकासमा सघाउ पु¥याउन सहयोग पुग्ने माध्यम भएको उहाँको भनाइ थियो ।
त्यसअवसरमा उहाँले नगरपालिकाद्वारा प्रकाशित ‘प्रोफाइल’को समेत विमोचन गर्नुभयो । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देशको विकास र समृद्धिको महान् लक्ष्यप्राप्तिका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो ।
नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको बाल महोत्सव उद्घाटनमा नगरउपप्रमुख तथा बाल महोत्सव मूल समितिका संयोजक गीता अधिकारीले बाल महोत्सव बाल मैत्री नगर बनाउन यसले सघाउ पु¥याउने चर्चा गर्नुभयो ।
बालमहोत्सवको उद्घाटनमा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, भौतिक योजनमन्त्री रघुवीर महासेठलगायत प्रदेशका मन्त्रीको उपस्थिति थियो । महोत्सवमा स्थानीय जातिका झाँकी, नृत्यसमेत प्रस्तुत गरिएको थियो ।
दमक–९ स्थित हिमालय माध्यमिक विद्यालयमा सुरु भएको उक्त बालमहोत्सवमा बालबालिकाको प्रतिभा उजागर गर्ने नृत्य, निबन्ध, चित्रकला, कविता, हाजिरी जवाफ, वक्तृत्वकला, विज्ञान प्रतियोगितालगायतका एक दर्जन बढी विभिन्न विधामा एक हजार बढी विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।
दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने महोत्सवभरि स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसमेत रहने जनाइएको छ । करिब एक लाख सर्वसाधारणले अवलोकन गर्ने लक्ष्य राखिएको उक्त महोत्सवमा बालबालिकासहित विभिन्न ५० वटा व्यावसायिक कक्ष रहनेछन् । 