वासिङ्टन, अमेरिकी गुप्तचर निकायले राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको बलियो आशाको बाबजुद पनि उत्तर कोरियाले पूर्णरूपमा पारमाणविक हातहतियार त्याग्ने सम्भावना कमै रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
विश्वव्यापी खतरा मूल्याङ्कन प्रतिवेदनले इरानले पनि पारमाणविक हातहतियार कटौती कार्यमा गम्भीरता नदेखाएको पनि जनाएको छ । उक्त गुप्तचर निकायले चीन र रसिया दुवैले अमेरिकाको आगामी सन् २०२० को चुनाव प्रभावित गर्न खोजिरहेको पनि जनाएको छ । राष्ट्रिय गुप्तचर निर्देशक डान कोट्स र अन्य वरिष्ठ गुप्तचर अधिकारीहरूले सो प्रतिवेदन मङ्गलवार अमेरिकी सिनेटमा पेस गरेका हुन् ।
सो प्रतिवेदनमा अनुसार, ‘उत्तर कोरियाले आफ्नो पारमाणविक हातहतियार भण्डार र उत्पादन क्षमता त्याग्ने छाँट छैन। त्यसैले अमेरिका र अन्तर्राष्ट्रिय जगत्बाट केही छुट हासिल गर्न आंशिकरूपमा केही हतियार कटौती गर्न सक्नेछ।’
गत वर्षको १२ जुनमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबिच कोरियाली प्रायद्वीपमा निशस्त्रीकरण गर्नेबारे भएको वार्तामा सहमति भएको थियो। तिनीहरूबिच आगामी फेब्रुअरीमा भियतनाममा दोस्रो चरणको वार्ता हुने कार्यक्रम छ । (एजेन्सी)