विभिन्न कार्यक्रम गरी बुधबार मुलुकमा सहिद दिवस मनाइएको छ । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदहरुको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो । प्रत्येक वर्ष सरकारीस्तरबाटै सहिद दिवस मनाउने गरिएपनि अहिलेसम्म सरकारी निकायसँग सहिदको आधिकारिक तथ्यांक रहेको छैन भने सहिदको सर्वमान्य परिभाषा पनि पाउन मुस्किल छ ।
मुलुकमा प्रजातन्त्र र स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई तत्कालीन राणा शासकले मृत्युदन्ड दिएका थिए । यिनै चारजना सहिद र अन्य विभिन्न कालखन्डमा प्रजातन्त्र र स्वतन्त्रताका लागि ज्यान दिएका सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ ।
राज्यले सहिदको सम्झना र सम्मानका लागि भन्दै मुलुकका विभिन्न स्थानमा सहिद स्मारकहरु निर्माण गरेको छ । सहिद दिवसका दिन तिनै स्मारकहरुमा माल्यार्पण गर्ने गरिएको छ । सहिदको परिभाषा तय गर्न मोदनाथ प्रश्रित र नवराज सुवेदीको अध्यक्षतामा दुईओटा आयोग गठन भएपनि आयोगको प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन । सहिद भन्नाले ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण, लोकहित तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान दिने व्यक्तिलाई सहिद’ भन्ने आम बुझाइ छ ।
तर, २०४६ सालको परिवर्तनपछि राजनीतिक पहुँच र स्वार्थको आधारमा जसलाई पनि सहिद घोषणा गर्ने परम्परा सुरु भयो । २०६२–६३ सालको आन्दोलनपछि त सहिद भन्ने शब्द नै विकृत बन्र्दै आएको अवस्था छ । दोस्रो जनआन्दोलनपछि त भीरबाट खसेका, गाडीले ठक्कर दिएका र कालगतिले मृत्यु भएकाहरुलाई पनि पहुँच र व्यक्तिगत स्वार्थपूर्तिका लागि सहिद घोषणा गर्ने विकृत प्रवृत्ति देखापरेको छ । यतिसम्म की , पछिल्लो समय त व्यक्तिगत झैझगडा, पारिवारिक रिसिइवी वा गुन्डाहरुबाट मारिएकालाई समेत सहिद घोषणा गर्ने गरिएको छ ।
दोस्रो जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि सहिद घोषणा गरिएको छ । सरकारले पछिल्लो समय विभिन्न आन्दोलनमा मारिएका १९० जनादेखि द्वन्द्वकालमा मारिएका दुई हजार ८०७ जनालाई एकैपटक पनि सहिद घोषणा गरेको छ । सहिद घोषणा गरिएकालाई १० लाख रुपैयाँ दिइने भएकाले पनि सहिद घोषणाका लागि दबाब पर्ने गरेको छ । यसले सहिद शव्द र वास्तविक सहिद हरुको अपमान हुँदै गएकोले सहिदको परिभाषा नै बदल्नुपर्ने बिश्लेषकहरुको भनाई छ ।