न्यु योर्क, नेपाली सङ्घीय समाज अमेरिकाको दोस्रो महाधिवेशनले पुनः समीर महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । जनवरी २७ मा सम्पन्न उक्त महाधिवेशन २ चरणमा सम्पन्न गरिएको थियो ।
सङ्घीय समाज फोरम नेपालका केन्द्रीय सदस्य डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यता, समीर महर्जनको अध्यक्षतामा सम्पन्न भएको पहिलो चरणको कार्यक्रममा संस्थाका उपाध्यक्ष लीला राईको स्वागत मन्तव्य र समाजका सचिव लोक चेम्जोङको सञ्चालन रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. लावतीले पार्टीको उद्देश्य बारेमा बताउँदै सङ्घीय समाज फोरम नेपाल, मात्र एक पहिचानवादी पार्टी रहेको तथा पार्टीले सबैको समान अधिकार र पहिचानको लागि लड्दै आएको बताएका थिए । साथै सङ्घीय समाजवादी पार्टी कुनै जातिवादको पार्टी नभएर सबैको समान अधिकार प्राप्तिका लागि लागिरहेको बताएका थिए ।
करिब १ घण्टा लामो प्रशिक्षण समेत दिएका डा. लावतीले सबैको समान अधिकारका लागि सरकार र नेताहरू आजसम्म तयार नभएको आरोप समेत लगाएका थिए । डा. लावतीले नेताहरूमा नातावाद तथा आफू र आफ्नो लागि मात्र भन्ने प्रवृत्तिको विकास भएको भन्दै दुःख व्यक्त गरेका थिए ।
सोही अवसरमा जनमोर्चा अमेरिकाका अध्यक्ष अग्नि राईले महाधिवेशन सफलताको शुभकामना दिँदै समाजलाई सदैव सहयोग गर्ने बताएका थिए । त्यस्तै जनजाति महासङ्घ (फिफ्ना) अमेरिकाका अध्यक्ष मान बहादुर राना मगरले आफ्नो हकहित र पहिचानका लागि सबै जनजाति एक भएर अघि बढ्नुपर्ने बताए । उनले अहिलेको संविधानले जनजातिको अधिकार र पहिचान दिलाउन नसक्ने समेत बताएका थिए ।
त्यस्तै एनआरएनए अमेरिकाका केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष सञ्जय थापाले विदेशको ठाउँमा सबै नेपाली एक हुनुपर्ने र एनआरएनएको आगामी चुनावका लागि सबैले एनआरएनएको सदस्यता लिन समेत अनुरोध गरेका थिए । थापाले आफू जुन पार्टीमा भए पनि पहिचानको लागि सदैव आवाज उठाउँदै आएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । नेपाल सरकारका प्रतिनिधि तथा कार्यक्रमका विशेष अतिथि पुष्प भट्टराईले महाधिवेशनको शुभकामना दिएका थिए ।
त्यस्तै एनआरएनए नर्थ अमेरिकाका पूर्व रिजनल कोर्डिनेटर सोनाम लामाले महाधिवेशनको शुभकामना दिँदै परदेशमा सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताउँदै एनआरएनएको सदस्यता लिने समय फेब्रुअरी १५ सम्म रहेकोले सबैलाई सदस्यता लिएर संस्थालाई सहयोग गरिदिन अनुरोध गरेका थिए । त्यसै गरी फरार डण्डी शेर्पाले आफूहरूको लडाइ कुनै जातिसँग नभएर सामन्तको लागि भएको बताएका थिए भने प्रवासी नेपाली मञ्चका महासचिव कृष्ण लामिछानेले विदेशमा रहेका सबै नेपाली एक भएर सङ्गठित हुनुपर्ने बताएका थिए ।
जनसम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्वाङले महाधिवेशन सफलताको शुभकामना दिदैं समाजसँग सदैव सहकार्य गर्दै अगाडि बढ्ने बताएका थिए । त्यस्तै एनआरएनएका महासचिव बिआर लामाले एनआरएनको सदस्यता लिनका लागि सबैलाई अनुरोध गरेका थिए भने मधेस एसोसिएसन प्रतिनिधि सत्येन्द्र सादाले मधेस र जनजातिको हितमा अहिलेको संविधान नभएको बताउँदै संविधान संशोधन हुनुपर्ने बताए ।
सोही अवसरमा शेर्पा सङ्घ अमेरिकाका प्रतिनिधि लाक्पा शेर्पाले पहिचान र समानतका लागि सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका थिए भने सञ्चारकर्मी शैलेश श्रेष्ठले एनआरएनए चुनावमा घोटाला भएर चुनाव सही ढङ्गबाट हुन नसकेमा फेसबुक लाइभमार्फत आफूले लिएको जिम्मेवारीबाट बाहिर आउने बताएका थिए ।
त्यस्तै समाजकी सल्लाहकार एवं निर्वाचन आयोगकी अध्यक्ष पूर्व डिआइजी पार्वती थापाले नेपाली सङ्घीय समाज अमेरिकाले सबैको हितमा काम गर्नुपर्ने बताएकी थिइन् । त्यस्तै नेपाली सङ्घीय समाज अमेरिकाका केन्द्रीय प्रतिनिधि प्रेम कुलुङ राईले सहमतिको नेतृत्व चयन गर्न विशेष पहल गरेका थिए ।
दोस्रो चरणको कार्यक्रममा पूर्व डिआइजी पार्वती थापा मगरको नेतृत्वमा श्रीमती लीला सिंह लिम्बु र समाजका सल्लाहकार सन्जोग लामा रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन हुने सम्भावना अत्यन्त कम रहेको अवस्थामा अन्तिममा सहमतिको आधारमा पुन : समीर महर्जनको नेतृत्वमा समाजको नयाँ कार्यसमिति गठन गरिएको थियो ।
जसको वरिष्ठ उपाध्यक्षमा लीला राई, उपाध्यक्षद्धयमा ओमराज सम्बाहाम्फे र आङछिरीङ शेर्पा, महासचिवमा लोक चेम्जोङ लिम्बु, सचिवमा मनु लोहररुङ, कोषाध्यक्षमा निला जवेगु तथा सदस्यहरूमा madan कुमार राई, अनिल लिम्बु, विमल चेम्जोङ, गजेन्द्र सुब्बा, जंबु लामा, देव बहादुर पुन, कुवेर वनेम, काजी शेर्पा, हरि प्रसाद जवेगु, केशर बहादुर लिम्बु,सुवर्ण शाक्य, सेहांग नेम्बाङ र सुरेन्द्र ठाकुर रहेका छन् ।