अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 11:13

चलचित्र गोपीको राजधानीमा विशेष शोको आयोजना

बिआरटीनेपाल २०७५ माघ १५ गते ११:३० मा प्रकाशित

माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीको सोमवार राजधानीमा विशेष शोको आयोजना गरिएको छ । विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाई पालक कृषक ‘गोपी’को कथा समेटिएको छ । दृढ इच्छा शक्ति र निरन्तरको प्रयासले देश मै राम्रो उद्धम गर्न सकिन्छ भन्ने सन्देश बोकेको फिल्मको विशेष सोमा नेपाली राजनिनैतिक व्यक्तिहरू, सरकारी उच्च ओहोदामा रहेका व्यक्तिहरू, व्यापारीहरूसँगै विभिन्न कलाकारहरूको उपस्थिति रहेको थियो । 

फिल्म हेरेका अधिकांशले फिल्म राम्रो बनेको र फिल्म हेर्दै गर्दा आफू पनि फिल्मको पात्र ‘गोपी’ भएको महसुस गरेको प्रतिक्रिया दिएका थिए । फिल्म हेरे पछि पत्रकारहरूसँग कुराकानी गर्दै छक्का पन्जा टिमले फिल्म लोकल नेपाली कथामा बनेको र यो फिल्म हेर्न नेपाली मन लिएर आउनु पर्ने बताएका थिए । फिल्म हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिँदै निर्माता तथा कलाकार दीपकराज गिरीले भने, ‘ किसानहरूले गौरव गर्न लायक फिल्म बनेको छ । हामी सबैको जिउमा त्यही फिल्ममा देखाइए जस्तै गोबर गुनाउँछ । हामी पनि त्यही पृष्ठभूमिबाट आएका थियौँ । होला फरक कर्ममा छौँ, तर हामी सबै गोपी हौँ’ । 

कलाकार जितु नेपालले नेपाल सरकार कृषि मन्त्रालयले निर्माण गर्नु पर्ने खालको फिल्म निजी क्षेत्रबाट निर्माण भएको र यसलाई कृषि मन्त्रालयले अन्तर्गत विशेष फिल्म घोषणा गर्नु पर्ने बताए । सङ्गीतकार अर्जुन पोखरेलले फिल्म हेरिसकेपछि आफ्नो प्रतिक्रिया दिँदै भने फिल्मले बोकेको स्वरोजगार र नेपाल मै केही गर्न सकिन्छ भन्ने सन्देशले आफ्नो मन छोएको बताए । सङ्गीत कर्ममा लागेको आफूले सङ्गीत पालन गरेको र आफू सङ्गीतको गोपी रहेको उनले बताए । 

फिल्मका बारेमा बोल्दै नेता योगेश भट्टराईले नेपाली मौलिक कथा बोकेको फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरेका थिए । उनले भने, ‘राजनीति गर्ने व्यक्तिहरूलाई समेत फिल्मले प्रेरित गर्छ । जुन साहस बोकेर यो फिल्म निर्माण भएको छ त्यसको कदर गर्नुपर्छ’ । नेपाल कृषि प्रधान देश भएकाले पनि नेपालमा यस किसिमको फिल्म निर्माण हुनु गौरवको कुरा रहेको बताएका थिए । सरकारी तवरबाट फिल्मको लागि केही गर्न सकिने धारणा उनको थियो । 

त्यस्तै फिल्मको ‘गोपी’ जस्तै आफू पनि गाई पालन गर्दै आएको अनुभव साट्दै पूर्व सञ्चार मन्त्री मोहन बस्नेतले पछिल्लो समय वैदेशिक रोजगारीका लागी नेपालीहरू पलायन भइरहेको अवस्थामा नेपाल मै केही गर्न सकिन्छ भन्ने सन्देश फिल्मले बोकेको र त्यो जमातलाई यो फिल्म देखाउन सकिए फिल्मको उद्देश्य पुरा हुने विश्वास व्यक्त गरेका थिए । असफलता नै सफलताको कडी हो भन्ने सन्देश फिल्ममा रहेको उनको भनाई थियो । नेत्री नबिना लामाले सम्भावनाको खोजी गर्न सके नेपाल मै बसेर आर्थिक रूपमा सबल बन्न सकिने सन्देश फिल्मले बोकेको बताइन् । आर्थिक रूपमा सबल बन्नका लागी विदेश नै धाउनु पर्छ भन्ने सोच बोकेका युवाहरूका लागि गोपी एउटा राम्रो सन्देश बन्न सक्ने विश्वास उनको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू