अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

शान्तिप्रक्रियामा अनावश्यक चलखेल स्वीकार्य छैन– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ माघ १५ गते ९:११ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले टुंगिने प्रक्रियामा रहेको नेपालको शान्तिप्रक्रिया बिथोल्ने प्रयास नगर्न चेतावनी दिनुभएको छ । १८ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा भएको कार्यक्रममा प्रधानमन्त्रीले शान्तिप्रक्रियामा अवरोध नगर्न चेतावनी दिनुभएको हो ।

नेपालको संक्रमणकालीन न्यायको मुद्दालाई अन्तर्रािष्ट्रयकरण गर्ने प्रयास भइरहेका बेला प्रधानमन्त्री ओलीले कडा प्रतिक्रिया दिनुभएको हो । गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राष्ट्रसंघसम्म लगिएको तथा द्वन्द्वकालीन मुद्दाकै विषयलाई लिएर प्रा.डा. गोविन्द केसी २१ दिनदेखि अनशनमा बसिरहेको पृष्ठभूमिमा प्रम ओली सशस्त्र प्रहरी बलको मुख्यालय पुगेर यस विषयमा बोल्नुभएको हो ।
छोराका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि आन्दोलित गंगामायाले सरकारबाट डेढ करोड रुपैयाँ राहत बुझेपछि उनलाई न्यायका लागि भन्दै केही कानुनव्यवसायीले राष्ट्रसंघसम्म लगेपछि चलेको विवादबीच सरकार आक्रोशित बनेको हो ।

विगतको एउटा द्वन्द्वरत पक्ष शान्तिपूर्ण राजनीतिमा आइसकेको र शान्ति प्रक्रियाका अधिकांश काम अन्तिम चरणमा पुगिसकेको अवस्थामा विगतका घाउलाई कोट्याइनु उपयुक्त नहुने प्रधानमन्त्रीले बताउनुभयो । तत्कालीन राष्ट्रसंघीय मिसन अनमिनका प्रमुख इयान मार्टिनसहितले नेपालको संक्रमणकालीन न्यायको प्रक्रियालाई बिथोल्ने प्रयासस्वरुप चलखेल सुरु गरेको भन्दै यसअघि नै सरकारले कडा धारणा सार्वजनिक गरिसकेको थियो । अन्तर्रािष्ट्रय समुदायले नेपालको शान्तिप्रक्रिया बिथोल्न खोजेको भन्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आपत्ति जनाउनुभएको थियो ।

बिगतका द्वन्द्वका घाउ निरुपणका लागि नेपालमा सत्य निरुपण र बेपत्ता खोजबिन आयोग क्रियाशील रहेकै बेला देशीविदेशी शक्तिहरू द्वन्द्वकालीन मुद्दालाई अन्तर्रािष्ट्रयकरण गर्न सक्रिय रहेको सरकारको निचोड छ ।एक फरक प्रसंगमा प्रधानमन्त्री ओलीले फरक प्रसंगमा भ्रष्टाचार कुनै हालतमा नसहने पनि बताउनुभयो । सरकारले शुन्य भ्रष्टाचारको नीति अवलम्बन गरेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका सुरक्षा अंगलाई चनाखो हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय