कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा मुछिएका बम दिदीबहिनीले घटनामा आफूहरूको कुनै संलग्नता नरहेकोे स्पष्ट पारेका छन् । उनीहरूले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरू जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताएका हुन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूलाई मानव अधिकारकर्मी भन्नेहरूले चरित्र हत्या गर्नेगरी स्थलगत अध्ययन तथा अनुसन्धान नै नगरी गलत प्रतिवेदन बाहिर ल्याएको पनि आरोप लगाए । निर्मलाकी साथीसमेत रहेकी रोशनी बलम निर्मला आफ्नो साथी रहेको र यो प्रकरणमा मिडियाले पनि सत्य कुरा बाहिर ल्याउनुपर्ने बताउनुभयो ।
प्रहरी अनुसन्धानले आफूहरूलाई दोषी सावित गरिनसकेको अवस्थामा असोज महिनातिर नेपाल मानव अधिकार संगठनको नामबाट चरित्र हत्या गर्नेगरी र आफूहरूलाई उक्त हत्याको मतियार भन्दै प्रतिवेदन बाहिर ल्याएको भन्दै रोशनीले कडा आक्रोश पोख्नुभयो ।
रोशनीले भन्नुभएको छ ,“नेपाल मानव अधिकार संगठनको नामबाट हाम्रो चरित्रहत्या गर्नेगरी र हामीलाई त्यस हत्याको मतियार भन्दै उक्त संगठनका अध्यक्ष ईन्द्र प्रसाद अर्याल, संस्थाका महासचिव महामुनीश्वर आचार्य र कञ्चनपुर जिल्ला अध्यक्ष त्रिभुवन भट्टले प्रतिवेदन सार्वजनिक गरे।” आफ्नो प्रतिवेदनमा दाबी गरेको कुरालाई सार्वजनिक रूपमा पुष्टि गर्नुपर्ने नेपाल मानव अधिकार संगठन र यसका पदाधिकारी इन्द्र अर्याल, महामुनिश्वर आचार्य र त्रिभुवन भट्टको दायित्व रहेको उहाको भनाई थियो ।
पत्रकार सम्मेलनमा बम दिदीवहिनीले प्रतिवेदनले गर्दा आफुहरुलाई परेको शारीरिक, मानसिक र सामाजिक क्षतिको क्षतिपूर्ति दिलाइ दिन आम सञ्चार माध्यम, पत्रकार , मानव अधिकारकर्मी, महिला अधिकारकर्मी र बालअधिकारकर्मीहरू लाई अनुरोध गरेका छन् । पत्रकार सम्मेलनको सुरूमै उनीहरुले आफूहरू घटनाक्रम बताउनको लागि नभएर आफ्नो कुरा राख्नको लागि आएको स्पष्ट पारेका थिए ।
कार्यक्रममा दिदी बबिता बमले आफूहरू दोषी प्रमाणित भए जेल जान तयार रहेको बताउनुभयो । “दोषी को हो भनेर राज्यले छानबिन गर्ने हो । यो सरकारको काम हो । ईन्द्रप्रसाद अर्यालले आफ्नो प्रतिवेदनमा लेखेका सबै कुरा झूटो छन् । उनले झूटो कुरा लेखेर हाम्रो बद्नाम गरे। एउटा कुरा पनि सत्य छैन । यदि उनले लेखेको कुरा प्रमाणित भए हामी जेल जान तयार छौं ,” बबिताको भनाई छ ।
बिना आधार र प्रमाण, र सत्य तथ्य नबुझी एकपक्षीय रूपमा आफूहरूको चरित्र हत्या गर्ने प्रतिवेदन ल्याएको नेपाल मानव अधिकार संगठनविरूद्ध अदालत जाने समेत बा दिदीवहिनीहरुले चेतावनी दिएका छन् ।