प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभएको आरोप लगाउनुभएको छ । संसदलाई सरकारको विभाग बनाउन खोजेको भन्दै सांसद थापाले आक्रोश व्यक्त गर्नुभएको हो ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उहाँले सभामुखको भूमिका तटस्थ नभए संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी समेत दिनुभएको छ । उहाँले चिकित्सा शिक्षा विधेयकको लागि सभामुख कृष्णबहादुर महराको संसदभित्रको भूमिका पनि आफूहरुको लागि चित्तबुझ्दो नभएको उल्लेख गर्नुभयो ।
सत्तापक्ष र प्रतिपक्षवीचमा मुठभेडको अवस्था सिर्जना भएको अवस्था छ, डा.गोविन्द केसीको अनसन जारी रहेको छ, प्रधानमन्त्री स्वदेश फिर्ता भएपछि समस्या समाधान हुने अपेक्षा गर्दछौं, पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले भन्नुभयो । सम्झौता पालनाका लागि प्रधानमन्त्रीबाट पहल हुनेछ–उहाको भनाई थियो ।
साथै उहाँले सभामुख र उपसभामुख एउटै दलबाट हुँदा प्रतिपक्षलाई बायस हुने अवस्था आएकाले काँग्रेसले सो विषय अव उठाउनुपर्ने पनि बताउनुभयो । 