अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

अधिनायकवाद भन्नुस् कि दुई तिहाईको दम्भ, चिकित्सा शिक्षा विधेयक पारित हुन्छ – मन्त्री बाँस्कोटा ( प्रवक्ता नेपाल सरकार)

बिआरटीनेपाल २०७५ माघ १० गते ८:२९ मा प्रकाशित

नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कुनैपनि हालतमा संसदबाट पारित गर्ने बताउनुभएको छ । सरकारका सूचना, संचार तथा प्रविधिमन्त्री समेत रहनुभएका मन्त्री बाँस्कोटाले “अधिनायकवाद, दुई तिहाईको दम्भ”जे आरोप लगाए पनि उक्त विधेयक संसदबाट पारित गरिने स्पष्ट पार्नुभयो ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले व्यवस्था गरेका विषयमा छलफल नभएको तर एकोहोरो आलोचना मात्रै गरिएको भन्दै डा. गोविन्द केसी, उनको पक्षमा बोल्नेहरू र प्रतिपक्षी नेपाली कांग्रेसको आलोचना गर्नुभयो । उक्त विधेयक संसदमा छलफल र पारित गर्न विगतका केही बैठकमा प्रतिपक्षीले अवरोध गरेको छ । यसै विषयलाई लिएर चिकित्सक डा. केसी १६ दिनदेखि अनशन बस्नुभएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले विधेयकमा के छ ? भन्ने विषयमा संसदमा समेत छलफल हुन नसकेको बताउनुभयो । उहाँले डा. केसीले बिहीबार मात्रै सांसदहरूलाई गरेको अपीललाई पनि व्यंग गर्दै डा. केसीलाई विधेयक पढ्न सुझाव दिनुभयो । विधेयक सरकारले संसदमा र्पुयाइएको र कुनैपनि हालतमा त्यो पारित हुने मन्त्री बाँस्कोटाको दावी थियो । विधेयकमा रहेका व्यवस्थालाई मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनमा पढेर सुनाउनुभएको थियो ।

मन्त्री बाँस्कोटाले मेडिकल कलेज खोल्नका लागि ३०० बेडको अस्पताल तीन वर्षदेखि चलेको हुनुपर्ने व्यवस्था गरिएको, छात्रवृत्तिको व्यवस्था गरिएको, सिटभन्दा बढी भर्ना गरे र मापदण्ड विपरीत भए खारेज गरिने विधेयकमा व्यवस्था गरिएको उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रतिपक्षी कांग्रेस र डा. केसीलाई लक्षित गरेर दर्जनौँ प्रश्न पनि गर्नुभएको थियो । ’यो जनमुखी भएन? जनताप्रति फर्किएन? विद्यार्थीको कोटा, स्वदेशी र विदेशीको भिन्नताको कुरा, दलित, जनजाती, मधेसी, मुस्लिम, अल्पसंख्यक, सहिद, घाइते, अपांगका परिवारालाई छात्रवृत्ति, विपन्न विद्यारीलाई ऋण उपलब्ध गराउने र मेधावी विद्यार्थीलाई मेडिकल शिक्षा पढ्न पाउने व्यवस्था गर्नु जनमुखी नहुनु हो?’ उहाँले डा. केसीले लगाउँदै आएको आरोपको अर्थ नबुझिएको बताउनुभयो ।

कांग्रेस विधेयकमा छलफल गर्नबाट भागेको बाँस्कोटाको आरोप थियो । उहाँले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामको विषय उठान गरेर कांग्रेसले जनतालाई चिकित्सा शिक्षा विधेयकबारे गुमराहमा राखेको आरोप लगाउनुभयो । मनत्री बाँस्कोटाले सबै विषयमा संसदमा नै छलफल गर्न कांग्रेसलाई आग्रह गर्नुभयो । “अस्पतालहरूमा गरिने धर्ना, जुलुस र अनशनले कानुन बनाउने हो? कि संसदले हो?” उहाँले डा. केसीलाई लक्षित गरेर प्रश्न गर्नुभयो ।

चिकित्सा शिक्षाको विधेयकका बारेमा छलफल गर्न डा. केसीलाई संसदको समितिले बारम्बार बोलाएको पनि बाँस्कोटाको भनाई थियो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “ नभएको चिजका बारेमा हावामा तरबार चलाएर निशाना लाग्दैन । कसको खोजिमा तरबार चल्दैछ? स्पष्ट भएन ।” डा. केसीका माग शतप्रतिशत पूरा भएको उल्लेख गर्दै उहाँले अझै व्यवस्थित गरेर विधेयक ल्याइएको दाबी गर्नुभयो । मन्त्री बाँस्कोटाले थप्नुभयो, “उहाँले त्यो विधेयक पढ्न पाउनुभएको छ कि अर्कै पढ्न दिइएको छ? कसैकसैले गुमराह भ्रममा राखेको जस्तो छ । डाक्टरलाई भ्रममा राख्नु दुखद् कुरा हुन्छ, लोकतन्त्रमा फैसला बहुमतले हुन्छ। संसदबाट हुन्छ ।’” कांग्रेसले संसदमा विधेयक पेश गर्न नदिइएकोप्रति बाँस्कोटाले प्रश्न गर्दै भन्नुभयो, “कुनै अर्कै त्यान्द्रो समातेर वेल घेराउ गर्ने? कुहिना तेर्स्याउँदै हिँड्ने? सभामुखलाई कोठामै थुन्ने? लोकतन्त्र यै हो? नयाँ परिभाषा चाहियो।” मन्त्री बाँस्कोटाले सरकार र सरकारको नेतृत्व गरिरहेको दल सधैँ यो विषयमा छलफल गर्न तयार भएको समेत स्पष्ट पार्नुभएको छ ।

उहाँले संसद कानुन निर्माण गर्ने सर्वोच्च थलो भएको बताउँदै त्यहाँ सधै कोलाहल मच्चाउन नहुने बताउनुभयो । मन्त्री बाँस्कोटाले अगाडि भन्नुभयो, “अधिनायकवाद भने पनि यै हो, दुईतिहाईको दम्भ भए पनि त्यै हो। छलफल चल्न नदिएर अँध्यारोमा तीर चलाउने कुरा सही होइन, त्यो गर्न दिइन्न ।” संसदबाट अब विधेयक फिर्ता हुने कल्पना पनि गर्न नसकिने भन्दै उहाँले विधेयक पास हुने ठोकुवा गर्नुभयो । लोकतन्त्रमा संसदको बहुमतको सम्मान हुने भन्दै चिकित्सा शिक्षा विधेयकको टुंगो संसदले लगाउने पनि मनत्री बाँस्कोटाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय