अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४९ | Colorodo: 23:04

डायस्पोरा र एन. आर . एन: एउटा विस्मय

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ माघ १० गते ८:११ मा प्रकाशित

डायस्पोरामा एन.आर. एन किन र कस्का लागि भन्ने कुराको भूमिका र महत्त्व केलाउनु भन्दा पहिले डायस्पोरा के हो र कसरी सङ्गठित हुन्छ भन्ने तथ्यलाई बुझ्नु उपयुक्त हुन्छ ।

डायस्पोराको जरो खोज्दै जाँदा यो शब्दको उत्पत्ति प्राचीन ग्रीक भाषाबाट भएको पाउँछौँ जसको अर्थ “छरिनु” अथवा आफ्नो जन्मस्थलबाट विभिन्न कथा, व्यथा, पीडा र वेदना बोकेर विदेशिनु अथवा बाहिरिनु भन्ने अर्थ लाग्छ ।

उतिखेर इजरायलबाट बेबीलोनका राजाले यहुदी हरूलाई निर्वासित गरेको हुनाले उनीहरू प्रारम्भमा गएर बेबीलोनमा बस्नु परेको र पछि गएर विभिन्न देशमा छरिएर रहनु पर्ने बाध्यता र विवशता थियो । यसरी विभिन्न देशमा बस्नु परेता पनि उनीहरूले बिस्तारै क्रमशः: आफ्नो भाषा र संस्कृतिलाई जीवन्त राख्दै अस्तित्व जोगाए । अतः: त्यतिखेर यसरी यहुदीहरू जहाँ गएर बसे, ती ठाउँ हरूलाई “डायस्पोरा” भनियो ।

अहिले आएर विभिन्न कारण हरूले एउटा देशका मानिसहरू अर्को देशमा गएर बस्ने गर्छन् । केवल बाध्यता, विवशता, व्यथा र पीडाले मात्रै नभएर मानिसहरू स्वेच्छाले पनि इच्छा, शिक्षा, व्यापार, वाणिज्य, धर्म, कला, कौशल अथवा अन्य विविध कारण हरूले आफ्नो देश छोडेर विदेशमा बस्ने गर्छन् । तर स्वाभाविक रूपले हरेक व्यक्तिले आफ्नो माटोलाई, देशलाई, भाषा- साहित्य, संस्कृति, वेश-भूषा, आफन्त र आफ्नोपनलाई सम्झिन्छ झन् तीव्र तर रूपमा जब कोही विदेशमा हुन्छ । गहिरो र मधुर स्मृतिमा मिसिएको राष्ट्रप्रेम, देशभक्ति, मानवीय संवेग, संवेदना र अनुभूतिहरू उदात्त हुन्छन् परदेशमा ।

परदेशमा बसेका हरूलाई गहिरो पीडा हुन्छ; विदेशिनु परेको कारण जे सुकै र जस्तोसुकै भए तापनि । अतः: उनीहरू सङ्गठित हुन्छन् बिस्तारै विभिन्न बहानामा । यसरी एउटै देशबाट आएर पनि विभिन्न ठाउँ र देशमा छरिएर बसेका मानिसहरू एउटै छातामुनि समेटिनु ,सु:ख-दु:ख बाँड्नु र बृहत्तर राष्ट्रिय हित अनि स्वार्थका खातिर ऐक्यवद्ध हुनु खुसी र गौरवको विषय हो ।

यही आवश्यकतालाई मध्यनजर राखेर एन. आर. एनका जन्मदाता, पृष्ठपोषक र अभियन्ता हरूले जुन महान् उद्देश्यका निम्ति यो सङ्गठनको स्थापना, विस्तार र विकाश गरे र अद्यपरिमित गर्दै आएका छन्, अत्यन्त उदाहरणीय, अनुकरणीय र स्वागतयोग्य छ ।

तर यो एन. आर. एन किन, कस्कालागि , के को लागि र कसरी गर्ने भन्ने सवाल हरूको जवाफ दिन नसक्नु अथवा लिन नखोज्नु चैँ आफैमा दु:खको कुरा हो ।

हुन त, विदेशमा पहिलो सवाल पापी पेटकै भएको हुनाले जो कोहीले व्यक्तिगत आय- आर्जन र स्थापित हुने कुरालाई नै पहिलो प्राथमिकतामै राख्छ र क्रमशः सामाजिक र राष्ट्रिय रूपमा सङ्गठित हुँदै जान्छ जुन स्वाभाविक पनि हो ।

अमेरिका, युरोप, अस्ट्रेलिया लगायत सबै महादेशहरूमा अहिले आएर एन. आर. एन गठन भई सकेको छ जुन अत्यन्त खुसीको विषय हो तर अपेक्षित मात्रामा यसको विकास र विस्तार हुन सकेको छैन । विशेष गरी यो अहिलेको नवजात पुस्तामा फस्टाउन सकेन किनभने यसको महत्त्व, उपयोग र उपादेयतालाई हामीले बुझाउन सकी रहेका छैनौँ र उनीहरूले पनि बुझ्न बिलकुलै चाहेका छैनन् ।

* फस्टाउन नसकेका कारणहरू:
१. एन. आर. एन के हो ? सबै तह र तप्कालाई बुझाइएन
२. धनी र व्यापारीको मात्रै हो भन्ने भान भयो
३. धेरै वर्षसम्म पुँजीपति र धनाढ्यहरूको कब्जामा मात्रै रह्यो
४. लक्ष्य र उद्देश्यहरू स्पष्ट भएनन्
५. सर्वसाधारणसम्म तल्लो तहमा आउन सकेन
६. अर्थ, वाणिज्य र व्यापारलाई मात्रै जोडेर हेरियो ।
७. आर्थिक कारोबार पारदर्शी भएन
८. नेतृत्व जनमुखी भएन
९. भ्रष्टाचार, व्यभिचार र दुराचार भयो आदि- इत्यादि ।

* के गर्नु पर्छ त सुधार्न ?
१. यो सङ्गठन सबैको, सबैका लागि र सबैद्वारा सञ्चालित नेपालीहरूको साझा सङ्गठन हो भन्ने कुरा जनमानसलाई बुझाउन सक्नु पर्‍यो ।

२. धनी- पुँजीपति, ठुला- बडा र शिक्षित समुदायको मात्रै नभएर ग़रीब र उपेक्षित हरूको झन् बढी हो भन्ने कुरा भाषण र बोलीमा मात्रै नभएर बोली- वचन, बानी- व्यवहार र कार्यले पनि देखाउनु पर्‍यो ।

३. केन्द्रीकृत नभएर स्थानीय तहमा समेत यो सङ्गठनको उपस्थिति, कार्यविधि र कार्यक्रमबाट जनसाधारण लाभान्वित हुनु पर्‍यो ।

४. नेपालबाट आउने नवागन्तुक हरूलाई सूचना र सञ्चारको माध्यमबाट रोजी – रोटी, आवास, कपास र रोजगार लगायत निम्न तम आवश्यकता हरूको परिपूर्ति गर्ने दिशामा यो सङ्गठनका पदाधिकारी हरूले केन्द्रीय र स्थानीय तहमा समेत सक्रिय हेल्पडेस्क हरूको स्थापना गरी आसन्न समस्या हरूको समाधानार्थ अग्रसरता, तत्परता र सकृयता देखाउनु पर्‍यो ।

५. विशेषगरि, अहिलेको युवा पुस्ताहरूलाई आकर्षित गर्ने खालका कार्यक्रम राख्नु पर्‍यो ।

* कुन क्षेत्रमा, के काम गर्नु पर्छ त यस सङ्गठनले र कसरी ?
केवल हाईड्रोपावर र गुरु आयोजनाहरूको मात्रै कुरा नगरेर समग्रमा नेपालभित्र र बाहिर, घर देश तथा परदेशमा बस्ने सबै नेपालीहरूको बृहत्तर स्वार्थका खातिर लघु उद्योग र साना व्यापार हरूलाई समेत प्रवर्धन गर्नु पर्छ ।

क्रमशः: सङ्गठनलाई मज़बूत बनाएर भीमकाय कार्यहरू, परियोजना हरू सञ्चालन गर्नु अत्यन्त राम्रो कार्य हो तर जग बलियो र सबैको हुनु पर्छ । तर, सुरुवातका दिनहरूमा निम्नलिखित कार्यहरू गर्नु उचित देखिन्छ ।

१. नेपालको राष्ट्रिय पहिचान र अस्तित्वका लागि सर्वप्रथम त नेपाली भाषा, साहित्य, संस्कृति र एेतिहासिक महत्त्वका विषय हरूलाई प्राथमिकतामा राखी त्यसको संरक्षण र संवर्धन गर्नु पर्छ विदेशमा ।

२. नेपाली पाठशाला, मन्दिर, सामुदायिक भवन र केन्द्रहरूको स्थापना गरी नेपाली हरूलाई पर्दा र मर्दा अत्यावश्यकीय सहयोग पुर्‍याउनु पर्छ ।

३. विदेशमा अर्जित धन- दौलत, सीप, दक्षता, शिक्षा, ज्ञान, अनुसन्धान र अनुभवलाई स्वदेशतर्फ पनि स्थानान्तरण गर्नु पर्छ, कुरो सही हो तर विदेशमा पनि अब एउटा ठुलै नेपाल छ । अतः: यहाँ भएका नेपालीहरूको निम्ति पनि स्थायी परियोजनाहरू सञ्चालन गर्नु वाँछित देखिन्छ ।

४. नेपालबाट सानैमा आएका अथवा विदेशमा जन्मिएका नवजात नेपाली शिशुहरूलाई उनीहरूको जरो नेपाल र नेपाली हो भन्ने कुरा राम्रोसँग बुझाउन र सिकाउन नेपाली शैक्षिक र सांस्कृतिक केन्द्रहरूको स्थापना गर्नु पर्छ ।

५. एक पटकको नेपाली सधैँको नेपाली हो भन्ने कुरालाई सामाजिक, सांस्कृतिक र क़ानूनी तवरबाट स्वदेश र विदेशमा स्थापित गर्न सक्नु पर्छ ।

६. समय, सीप, सरलता, सहजता, निष्ठाशीलता, इमान्दारिता, नेतृत्रवशीलता र शिक्षा भएका व्यक्तिले मात्रै यो सङ्गठन हाँक्नु पर्छ; केवल रहर, सम्पत्ति र गुट मात्रै भएर हुन्न ।

७. केवल भाग पुर्‍याउने र अवधि मात्रै पुरा गर्ने हेतुले कसैले पद ओगट्नु हुन्न ।

एन. आर. एनले चमत्कारिक रूपले स्वदेश र विदेशमा काम गर्न सक्छ तर सही दिशा र कार्यतर्फ उन्मुख हुनु ज़रूरी छ ।

(वि.द्र: विदेशबाट निकै ठुलो मात्रामा नेपाली हरूको रेमिट्यान्स स्वदेश जान्छ तर त्यो त नेपालमा केवल बास मात्रै बस्दो रैछ; भोलिपल्टै छिमेकी देश भारत अथवा अन्य कुनै देशतर्फ पलायन हुँदो रहेछ: गाडी किन्ने, घर बनाउने सामान किन्ने अथवा अन्य विदेशी सामानहरू किन्ने निहुँमा । स्वदेशमा घरेलु उद्योग, कल- कारखाना र स्वदेशी उत्पादन नहुने भएकाले राष्ट्रिय पुँजीको निर्माण हुन नसक्नु ठुलो चिन्ताको विषय हो )

जब हामीले यो सङ्गठनको आवश्यकता, अपरिहार्यता र औचित्यलाई पुष्टि गर्दै काम पनि गरेर देखाउँछौँ अनि सबै नेपालीहरूको तन- तनमा र मन-मनमा प्रवेश गर्न सक्छौँ, तब मात्रै यसले जनप्रियता हासिल गर्छ र नयाँ पुस्तालाई समेत आकर्षण गर्छ । अन्यथा, यो पनि केवल राजनीति गर्ने र पैसा कमाउने भाँडोको रूपमा मात्रै सीमित हुन्छ ।

(प्रा. डा. दुर्गा दाहाल स्वयं पनि एनआरएन अभियन्ता हुनुहुन्छ )