अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

नेपाल सामाजिक आर्थिक रुपान्तरणको बाटोमा – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ माघ ९ गते ८:२० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि सहयोग गर्न विकसित देशसँग आग्रह गर्नुभएको छ । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठक अन्तर्गत स्विट्जरल्याण्डको डाभोसमा जारी “दक्षिण एशियाको रणनीतिक दृष्टिकोण” विषयक सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि सहयोगको आह्वान गर्नुभएको हो ।

उहाँले नेपाल सामाजिक आर्थिक रुपान्तरणको बाटोमा अगाडि बढेको बताउँदै वर्तमान सरकारले आफ्ना सम्पूर्ण प्रयास विकास र समृद्धिमा केन्द्रित गरेको उल्लेख गर्नुभयो । वि. सं २०७२ सालमा संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थायित्व हाँसिल भएको भन्दै प्रधानमन्त्री ओलीले वातावरण संरक्षण, दिगो विकासका लागि प्रयास भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका वैदेशिक लगानी आवश्यक हुने भएकाले सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्नुभयो । नेपाल सरकारले “समृद्ध नेपाल तथा सुखी नेपाली” को लक्ष्य साकार पार्ने उहाँले जानकारी गराउनुभयो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली प्रथमपटक प्रधानमन्त्रीस्तरमा उक्त मञ्चमा सहभागी हुनुहुन्छ । सो अवसर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायतकाको उपस्थित रहेको थियो ।

सम्मेलन स्थलमा प्रधानमन्त्री ओलीले स्विट्जरल्याण्डका पूर्वराष्ट्रपति अलाइन बर्सेटसँग भेटवार्ता समेत गर्नुभएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले जर्मनीको ‘डिडब्लु टिभी’ तथा चीनको ‘सिसिटिभी’लाई अन्तर्वार्ता दिँदै नेपालको विद्यमान विकास प्राथमिकता, आर्थिक वृद्धि तथा समृद्धिका लक्ष्य प्राप्त गर्न अपनाइएका नीति र कार्यक्रमका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय