अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 22:56

साझा भवन निर्माणार्थ एक लाख अधिक डलर सङ्कलन

बिआरटीनेपाल २०७५ माघ ६ गते ९:११ मा प्रकाशित

ह्यारिसवर्ग (पेन्सलभेनिया), नेपाली भाषी स्थानीय बासिन्दाहरूको आस्था र सामाजिक सद्भावनालाई कायम राख्तै स्थायित्व दिने उद्देश्यमा सक्रिय हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठन (ओएचआरसी) ले एक महिना व्यापी धनुर्मास व्रत कथा आयोजना गरेर धार्मिक/साझा सामाजिक भवन निर्माणका लागि एक लाखभन्दा बढी डलर-रकम सङ्कलन गरेको छ । 

प्राप्त जानकारीअनुसार जनवरी १४, २०१९ मा आयोजित एक महिने श्री व्रतम् कथा वाचन कार्यक्रम समापनको क्रममा ओएचआरसीका अध्यक्ष तुलाराम नेउपानेले सो जानकारी दिएका हुन् ।

हिन्दु धर्म दर्शन अथवा वैष्णव परम्पराअनुसार वृन्दावनमा श्री कृष्णद्वारा रचित रासलिलाझैं भगवान् रङ्गनाथ र गोदा माताबिचको कथा महिमा दर्साउँदै भक्तहरूलाई ईश्वरीय लीलाको प्रेरणा बुझाउने व्रतकथालाई श्री व्रतम् वा धनुर्मास कथा भनिन्छ ।

सो समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेउपानेले धनुर्मासको कथा सुरुदेखि समापनको दिनसम्म मन्दिर निर्माण अनुदान राशिमा कुल एक लाख दुई हजार चार सय २१ डलर ७० सेन्ट्स सङ्कलन भएको जनाएका ओएचआरसीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष नेउपानेलाई उद्धृत गर्दै विज्ञप्तिमा जनाइएअनुसार एक महिने सो कार्यक्रममा उपस्थित श्रोता र दर्शनाभिलाशीले गरेको आर्थिक अनुदानका अतिरिक्त कथा वाचक आचार्य स्वयंले एक हजार आठ (१००८) डलर मन्दिर निर्माण कोशमा दान गरेका थिए ।

”समाजका लागि भनेर एक महिनासम्म आफ्नो समयको नि:शुल्क लगानीका साथमा यसरी कार्यक्रम सकिएपछि आफ्नै तर्फबाट यति ठुलो रकम अनुदानमा प्रदान गरेर स्वामी चक्रपाणिले हाम्रो समाजका लागि एउटा बलियो उदाहरण पेस गर्नुभएको छ”, अध्यक्ष नेउपानेलाई उद्धृत गर्दै विज्ञप्तिमा जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ, ”धार्मिक-सांस्कृतिक कार्यक्रमहरूमा पठन-पाठन तथा प्रवचन गर्ने धेरै गुरु-आचार्यमध्ये स्वामी श्री चक्रपाणि समाजमा नयाँ परम्पराको नजिर बसाल्ने एक सूत्रधार बन्नुभएको हामीले महसुस गरेका छौँ । समाजलाई दिशानिर्देश गर्न चाहनेहरूले यसरी नै ऐतिहासिक अडान लिएर अघि बढ्नुपर्छ । यस्ता अनेक उदाहरणीय कार्यका साथै एकताबद्ध समाजको अस्तित्वनिर्माणमा महत्त्वपूर्ण योगदान गर्नुभएका स्वामीजीप्रति हामी विशेष आभार व्यक्त गर्दछौँ ।”

पण्डित श्री चक्रपाणि आचार्य (सिताराम अधिकारीजी) बाट कथा प्रवचन भएको सो एक महिने कार्यक्रम ह्यारिसबर्ग नगरकै स्थानीय हरे-कृष्ण मन्दिरमा सम्पन्न भएको थियो भने समापन कार्यक्रममा एक महिनाभरि व्रत कथा व्यवस्थापनमा लगातार योगदान दिने महानुभावहरूलाई अभिनन्दन पनि गरिएको थियो ।

अभिनन्दन हुनेहरूमा कथा वाचक गुरु स्वयं, स्वयंसेवी ठाकुर घिमिरे, कैलाश धिताल, श्याम धिताल र सुमन अधिकारी थिए ।

धार्मिक, सांस्कृतिक, सामाजिक कार्यक्रमहरूको आयोजना गर्नलाई साझा सामाजिक भवन नभएका कारण हिन्दु-विशेष गरी नेपालीभाषीका सामाजिक/सांस्कृतिक महत्त्वका कार्यक्रमहरू गर्नै नसकिएको अवस्थामा अब चाँडै सो साझा भवन बन्ने आशा व्यक्त गर्दै सो भवन निर्माणका लागि प्रत्यक्ष/अप्रत्यक्ष योगदान गर्ने सबै व्यक्तित्वहरूलाई अध्यक्ष नेउपानेले धन्यवाद ज्ञापन गरेका पनि विज्ञप्तिमा उल्लेख छ ।

हिन्दु धर्म तथा संस्कृतिप्रेमी सारा स्थानीयवासीहरूका लागि हुने गरी ह्यारिसवर्गमा एउटा सामुदायिक भवन स्थापना गर्ने उद्देश्यमा नव-हरिहरधाम परियोजना लिएर ओएचआरसी द्रूत्ततर गतिमा केही वर्षदेखि नै क्रियाशील छ । 

प्रतिक्रिया