अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 03:19

नेपथ्यसँग तात्यो फिदिम

बिआरटीनेपाल २०७५ माघ ४ गते ६:०८ मा प्रकाशित

‘तिमी देऊ तिम्रा हातहरू, म दिन्छु मेरा हातहरू, आऊ मिलाउँ हाम्रा हातहरू, न्याय र समानताको लागि, आऊ मिलाउँ हाम्रा हातहरू’ कुनै समय रामेश र मन्जुलले राल्फा अनि संकल्प कालमा गाएका गीतको यो लाइन सुनाइसकेपछि मञ्चबाटै गायक अमृत गुरुङले सोध्नुभयो , ‘मेरो हात सदैव डा. गोविन्द केसीसँग छ। तपाईहरूको हात नि!’ प्रतिउत्तरमा दर्शकले चर्को आवाजमा ‘हाम्रो पनि’ भनेर चिच्याउनुभयो । अमृतले स्टेजबाटै अहिलेसम्म डा. केसीसँग बारम्बार गरिएका सम्झौता किन कार्यान्वयन नगरिएको? भनेर प्रश्न उठाउनुभएको थियो ।‘हिजो रामेश र मन्जुलका यस्तै गीतहरूको माध्यमबाट राजनीति गर्दै सत्तासम्म पुगेकाहरूलाई आज यिनै गीतको मर्म हामीले सम्झाइदिनुपर्ने भएको छ,’ मञ्चबाट ओर्लिएपछि अमृतले भन्नुभयोे, ‘राल्फा र संकल्पकालीन गीतहरू यतिबेला फेरि शक्तिको श्रोत बनेको छ।’

पाँचथर सदरमुकामस्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानभरी भेला भएका दर्शकको भिडले त्यसपछि नेपथ्यसँग मिलेर गाएको थियो–‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार, फेर्नलाइ उठ’ गीत गाउनुअघि अमृतले फिदिम आउने क्रममै बाटोमा इलाम पसेर अनशनरत डा. केसीको दर्शन गरेको जानकारी दर्शकलाई दिनुभयो । ‘जसरी हिजो अन्याय र अराजकताको विरुद्धमा बोल्दा डर धम्कीको सामना गर्नुपरेको थियो त्यसैगरि आज डा. केसीको पक्षमा बोल्दा भयभित हुनुपरेको छ,’ उहाँले भन्नुभयो , ‘यस्ता डर र धम्कीहरूबाट मुक्त हुनकै निम्ति मैले रामेश र मन्जुलहरूको सम्झना गरेको हुँ।’ द्वन्द्वकाल, शाहीकाल, लोकमानकाल हुँदै अहिले गोविन्द केसी विरोधीहरूको कालसम्म नेपालीहरू नडराएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

यसरी छिमेकी इलामबाट बोकेर ल्याएको तापकै कारण माघ २ को चिसो फिदिमलाई नेपथ्यले दुई घन्टासम्म रन्काइदिएको थियो। अरुण खोलाभन्दा पारी अर्थात् पल्लो किराँतको केन्द्र फिदिममा नेपथ्य पहिलोपटक प्रस्तुत भएको हो। ‘१५ वर्षअघि कच्ची बाटो छिचोल्दै यहाँ आउँदा द्वन्द्वकालको अँध्यारो फिदिम देखेको थिएँ,’ अमृतले भन्नुभयो, ‘अहिले सहर बनिसकेको यस ठाउँमा तपाइँसँग यसरी भेट्ने जोग मिलाइदिएकामा सबैलाई धन्यवाद छ।’ त्यसपछि उहाँले गाउनुभयो, ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ कन्सर्टमा पाँचथर मात्र नभएर छरछिमेकका इलाम, तेह्रथुम हुँदै उत्तरतिरको ताप्लेजुङदेखिका दर्शक ओइरिएका थिए। त्यसैगरी मोटरमा झण्डै छ घन्टा परको झापादेखि आइपुगेका फाटफुट दर्शक पनि मैदानमा देखिन्थे। फुटबल मैदानमै तयार पारिएको मञ्च अगाडि उभिनेदेखि लिएर छेउका ढिस्काहरूमा बनाइएको अस्थायी प्यारापिटमा बस्नेसम्मका गरेर झण्डै छ हजार दर्शक अटाएका देखिन्थे। ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘चरी र्मयो’, ‘रेशम’ हुँदै ‘भेडाको ऊनजस्तो’ जस्ता थुप्रै सर्वकालीक हिट गीतहरूकै क्रममा ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’ पनि सुनाएको थियो। पूर्वेली लोकलय हाक्पारेमा आधारित यस गीतलाई सुनाउने बेलामा दर्शक उत्तिकै रमाए। काठमाडौंदेखि पैदल यात्रागर्दै छिमेकको संखुवासभा चैनपुर आइपुग्दा यसको संकलन गरिएको जानकारी अमृतले गराएका थिए। ‘तपाईंहरूले देस घुम्नुभएको छ कि छैन?’ सधैँजस्तै अमृतले फिदिमका दर्शकलाई पनि प्रश्न गर्नुभयो, ‘विविधताले सिंगारिएको आफ्नो देश घुम्ने मौका नगुमाउनुस् है…’ कन्सर्ट हेर्नका निम्ति विभिन्न जिल्लाबाट भेलाभएका दर्शकहरू दिउँसैदेखि मैदानमा भरिन थालेका थिए।

काठमाडौं, पोखरा वा अन्यत्र ठूला सहरमा जस्तै उच्चस्तरको प्रविधि प्रयोग गरिएको नेपथ्य कन्सर्ट हेर्न पाउँदा आफूहरूलाई खुशी लागेको उनीहरूले बताए। सुदुरपूर्वी पहाडको यस बस्तीमा नेपथ्यलाई निम्त्याउने धेरै वर्षदेखिको प्रयास बल्ल सार्थक भएको आयोजक सुम्हात्लुङ युवा क्लबले जनाएको छ। उक्त क्लबकै अगुवाइमा यहाँका नगरपालिकादेखि लिएर थुप्रै संघ संस्थाहरू आयोजनामा आवद्ध थिए। फिदिमको प्रवर्द्धन मुख्य उद्देश्य राखिएको यस कार्यक्रमबाट फाइदाको रकम विभिन्न सामाजिक कार्यमा लगानी गरिने आयोजकले बताएका छन्। कार्यक्रम भव्यताको साथ सम्पन्न भएको जानकारी स्थानीय व्यवस्थापक एवं सुम्हात्लुङ युथ क्लबका अध्यक्ष दिपेन योक्पानदेनले दिनुभयो । सँधैजस्तै फिदिमममा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

प्रतिक्रिया