टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज सांसदका रुपमा सपथ ग्रहण गराइएको छ । प्रतिनिधि सभाका सभमुख कृष्णवहादुर महराले चोधरीलाई सपथ गराउनुभएको हो । सपथसँगै सभामुख महराले चौधरीलाई संसदको लागोसमेत उपलब्ध गराउनुभएको छ । यसअघि आज विहान ११ः३०मा सपथ गराउने भनिएकामा संसद अधिवेशनको समय जुधेको भन्दै ३ बजेका लागि सारिएको थियो । जेलको कानुनी प्रकृया पुरा नभएको कारण पनि ३ बजेका लागि सारिएको थियो । डिल्लीबजार कारागारमा बन्दीका रुपमा रहेका चौधरीलाई सपथका लागि जेलबाट सिंहदरबार लगिएको थियो । सपथ ग्रहण पछि उहाँलाई पुनः जेल चलान गरिएको छ ।
चौधरीलाई कारगारबाट निकाल्दा स्वागतका लागि श्रीमती रन्जिता चौधरी श्रेष्ठ, आफन्तजन र राजपाका कार्यकर्ताहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । सपथ ग्रहणसंगै चौधरीले निर्वाचित भएको प्रमाणपत्र समेत पाउनुभएको छ । यसअघि चौधरी ले संसदको प्रमाणपत्र पाउनुभएको थिएन । प्रमाणपत्रका लागि उहाँकी श्रीमती रञ्जिताले बारम्बार आयोगमा दबाब दिँदै आउनुभएको थियो । प्रमाणपत्र लिनका लागि उहाँले अदालतमा मुद्दा समेत दायर गर्नुभएको थियो ।
वि. सं २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो । सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि चौधरी फरार हुनुभएको थियो । भारतका विभिन्न ठाउँमा लुकेर बसेका चौधरी फरार रहेकै अवस्थामा प्रतिनिधिसभा चुनाव लडेर विजयी हुनुभएको थियो । राजपा नेपालले पटक पटक प्रधानमन्त्री ओलीलाई चौधरीको सपथका लागि दवाव दिँदै आएको थियो । सोही दवावका कारण प्रधानमन्त्री ओली चौधरी लाई सपथ खुवाउन तयार भएको बताइएको छ । 