अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

कम्युनिष्ट पार्टी मिल्दा लोकतन्त्र खतरामा – काँग्रेस उपसभापति गच्छदार

बिआरटीनेपाल २०७५ पुष १६ गते ८:२६ मा प्रकाशित

नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले राष्ट्रिय एकता र मेलमिलाप अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई बलियो पार्न विपीको मेलमिलाप नीति अहिले झन् महत्वपूर्ण हुने बताउनुभयो । काँग्रेस कमजोर हुँदा देशको अखण्डता र राष्ट्रियता कमजोर हुने उल्लेख गर्दै उहाँले एकजुट भएर काँग्रेसले राष्ट्रियताको रक्षा गर्नुपर्ने बताउनुभयो ।

नेपाली स्वाभिमानको रक्षाका लागि विपी कोइराला ज्यानको प्रवाह नगरी मेलमिलाप नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै उपसभापति गच्छदारले त्यसलाई बलियो बनाउने जिम्मा अहिलेको काँग्रेसमा सरेको बताउनुभयो । देशमा ठूला कम्युनिष्ट मिल्दा लोकतन्त्र खतरामा परेको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेका केन्द्रीय सदस्य अर्जुन जोशीले राष्ट्रिय एकता र मेलमिलापलाई केवल एक कालखण्डमा सिमित गरेर हेर्न नहुने भन्दै थप परिमार्जित र विकसित गरेर लैजानुपर्ने बताउनुभयो । हिमाल, पहाड र मधेश बीचको एकताबाटै देशलाई प्रगतिको मार्गमा उन्मुख गराउनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसी, काँग्रेस नेता शुक्रराज शर्मा, खेमराज पौडेल, पूर्व मन्त्री यज्ञबहादुर थापा, राष्ट्रिय सभा सदस्य बृन्दा राना, प्रदेशसभा सांसद विन्दुकुमार थापा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, उपसभापति आइबहादुर गुरुङ, सचिव सुदिपमोहन भट्टराई लगायतले विपीको राष्ट्रिय एकता र मेलमिलाप नीतिकै जगमा राष्ट्रियता, लोकतन्त्रलाई मजबुत बनाउन सकिने बताउनुभयो । उनीहरुले काँग्रेसकै सिद्धान्तमा अहिलेको ब्यवस्था प्राप्त भएको भन्दै यसको रक्षाका लागि पनि काँग्रेसको विकल्प नभएको जिकिर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय