राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा आन्तरिक विवाद बढ्दै गएर उत्कर्षमा पुगेको छ । गुट–उपगुटमा विभाजित भइ एक पक्षले अर्को पक्षको अस्तित्व स्वीकार गर्न नसक्ने भएपछि आन्दोलनमै उत्रिएका छन् । पार्टीको जिल्ला कार्य समितिमा विवाद बढ्दै गएपछि शुक्रबार राजपाका केन्द्रीय सदस्य तथा प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साहको नेतृत्वमा नेता कार्यकर्ताहरुले अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोको पुत्ला नै दहन गरेका छन् ।
संयोजक महतोले एक विज्ञप्ति जारी गर्दै धनुषा अध्यक्ष मण्डलका ६ जना सदस्यमध्येबाट देवकृष्ण मण्डललाई हटाएर विद्यार्थी नेता ज्ञानेन्द्र झा ज्ञानुलाई सदस्यमा मनोनित गरेपछि विवाद चर्किएको हो । शरतसिंह भण्डारी नेतृत्वको तत्कालिन राष्ट्रिय मधेस समाजवादी पार्टीका तर्फबाट अध्यक्ष मण्डलका सदस्य रहेका मण्डललाई हटाएर उहाँकै पार्टीका विद्यार्थी नेता झालाई सदस्य बनाएपछि महतोको विरोध भएको हो ।
अध्यक्ष मण्डलबाट हटाइएका मण्डल र महन्थ ठाकुर पक्षधर नेता कार्यकर्ताहरुले स्थानीय जनक चोकमा महतोको पुतला दहन गर्दै महतो विरुद्ध नाराबाजी समेत गरेका थिए । संयोजक महतोले हैकमवादी प्रवृत्ति देखाउँदै अध्यक्ष मण्डलबाट आफूलाई हटाएको आरोप नेता मण्डलको छ । महतोको निर्णयलाई व्यक्तिवादी निर्णय भन्दै विरोध गरेको बताईएको छ । पार्टीको महाधिवेशन नजिकिँंदै गर्दा संयोजक महतोले यसरी अध्यक्ष मण्डलमा फेरदल गर्नु नै उनको लागि प्रत्युत्पादक मानिएको छ । सचेतक परमेश्वर साहले पनि महतोले व्यक्तिगत रुपमै पार्टी विधान र नीति नचलेको भन्दै एकल निर्णय र हैकमवाद उचित नरहेको बताउनुभयो ।
यता, विवादकै बीच अध्यक्ष मण्डलमा चयन भएका नयाँ सदस्य ज्ञानेन्द्र झा ज्ञानुले पदभार सम्हाल्नुभएको छ । मधेस आन्दोलनमा आफूले पुर्याएको योगदानको कदर गर्दै आफूलाई पार्टीले जिम्मेवारी दिएको ज्ञानुको भनाइ छ । संयोजक महतोले पार्टीको केन्द्रीय सचिवालयको निर्णयलाई आधिकारिकता दिएको हुनाले यसको विरोध कसैले गर्नु मुर्खता मात्र हुने झाको जिकिर छ । पार्टी्भित्र कलह बढेको अवस्थामा शनिबार केन्द्रीय सदस्य तथा जिम्मेवार पदाधिकारीहरुको अनौपचारिक बैठकले सचेतक साहकै उपस्थितिमा महतोको पुत्ला दहन हुनु घोर निन्दनीय रहेको ठहर गरेको छ । अध्यक्ष मण्डलका सदस्य संजय सिंहको नेतृत्वमा बसेको बैठकमा जिम्मेवार नेताले नै पुतला दहन गरेकोमा पार्टीकै अपमान ठहर गर्दै यस्ता क्रियाकलापमा संलग्न भएकाहरुबारे केन्द्रीय कमिटीलाई जानकारी गराउने बताइएको छ ।