अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 07:20

सुडानमा मूल्यवृद्धिको विरोध, प्रदर्शनका क्रममा १९ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ पुष १३ गते ८:५१ मा प्रकाशित

सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरीसहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् ।

सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिनुभएको छ । उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् ।

गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी) को मुख्यालयमा आगजनी गरेपछि कर्फ्यु समेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् । सुडानमा इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू