हिन्दु धर्मको बारेमा जनचेतना अभिवृद्धिका साथ साथै समस्त अमेरिकनहरूलाई हिन्दुत्वका बारेमा जानकारी दिने उद्देश्यले अमेरिकामा देश ब्यापीरुपमा ‘हिन्दु अभियान’ को सुरुवात गरिएको छ।
विगत १५ वर्ष देखि हिन्दु धर्मको क्षेत्रका बारेमा काम गर्दै आइरहेको संस्था हिन्दु अमेरिकन फाउन्डेसन (एच ए एफ)ले सुरु गरेको ‘आइ एम हिन्दु अमेरिकन’ नामक अभियानमा हाल सम्म लाखौँ हिन्दु अमेरिकनहरूले सहभागिता जनाई सकेको एच. ए. एफ. ले जानकारी दिएको छ।
अमेरिका भरिका ३०० सय बढी सामाजिक संस्थाहरूको संयुक्त पहलमा सञ्चालन भइरहेको यो अभियानमा अमेरिकाका कुनै पनि कुना बाट भाग लिन सकिने छ। संस्थाको वेबसाइटमा दिइएको जानकारी अनुसार अभियानमा भाग लिन चाहनेले आफ्नो फोटो/भिडियो सहित हिन्दुत्वका बारेमा जानकारी दिने सामग्रीहरू अपलोड गर्न सक्ने छन्।
योग, ध्यान लगायत दैनिक जीवनयापनमा प्रभाव पार्ने हिन्दुत्वका पक्षहरूदेखि पौराणिक कथा तथा हिन्दु देवी देवताका बारेमा सहभागीहरूले अनलाइन सामाग्री प्रस्तुत गर्न सक्ने एच. ए. एफ. कि प्रवक्ता मार्ग रेट दिसुसले जनाएकी छिन्। उनका अनुसार पछिल्ला दिनहरूमा धार्मिक अतिवाद र सो सङ्गका अपराधहरू बढ्दै गएको अमेरिकामा यहाँका नागरिकहरूलाई हिन्दु धर्मका बारेमा उचित जानकारी दिन र हिन्दु अमेरिकनको नयाँ पुस्तामा समेत आफ्नो धर्मका बारेमा पूर्ण जानकारी दिने उद्देश्यले यो अभियान सुरु गरिएको हो । अमेरिकामा धर्म सँग सम्बन्धित ‘हेट क्राइम’ मा २०१६ को तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ।