नेपालमा पूर्वप्रधानमन्त्रीहरुले ‘सुविधा कम भयो’ भनेर पटक पटक गुनासो गर्दै आएका छन् । त्यसो त उनीहरुको जीवनशैली आम नेपालीको भन्दा अस्वभाविक र अनपेक्षित पनि देखिदै आएको छ । तर, विश्वशक्ति भनिने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको जीवनशैली भने अनौठो र प्रेरणादायी पनि छ । क्रिसमसको अवसरमा उहाँले अस्पतालका बालबालिकाप्रति जस्तो मानवीय व्यवहार प्रकट गर्नुभयो, त्यसको सर्वत्र प्रसंसा नै भएको छ । बुधबार वासिङ्टनको उत्तरपश्चिम क्षेत्रस्थित एउटा राष्ट्रिय बाल अस्पतालमा पुगेर ओबामाले बिरामी बालबालिकालाई क्रिसमसको उपहार बाँड्नुभयो ।
‘सान्ता क्लज’ क्रिसमसमा लगाइने रातो टोपी लगाएर उहाँले अचानक उपहारको थैलो नै बोकेर अस्पताल पुगी बालबालिकालाई ‘सर्पाइज’ दिनुभयो । खेलौना लगायतका उपहार बोकेर ओबामा अस्पताल पुगेको अनौठो भिडियोबारे वासिङ्टन पोष्टले समाचार नै बनाएको छ ।
ओबामाले प्रत्येक बालबालिका र उनका अभिभावकलाई भेटेरै क्रिसमस टोपी समेत प्रत्येक बालबालिकालाई वितरण गर्नुभएको थियो । अस्पताल छोड्नुअघि ओबामाले अस्पतालका कर्मचारीहरुलाई बिदामा पनि काम गरेकोमा धन्यवाद समेत दिनुभएको थियो ।
ओबामा यसरी अस्पताल पुग्ने कुरा त्यहाँका कर्मचारीलाई मात्रै जानकारी थियो । तर ९० मिनेटको ओबामाको अस्पताल भ्रमण त्यस अवधिमै भाइरल बनेको थियो । ओबामाले बालबालिकालाई भेटेर उपहार दिँदै ‘भिडियो म्यासेज’ समेत सार्वजनिक गर्नुभएको थियो ।