न्युहेम्पशायर, युनाईटेड किरात अर्गनाईजेसन अफ अमेरिका न्यु ईङगलैण्ड च्याप्टरको आयोजनामा यही डिसेम्बर २२,२०१८ का दिन न्यु हेम्प्शायर राज्यको म्यानचेस्टरमा यलम्बर साँझको कार्यक्रम हुने भएको छ ।
प्रकृतिपूजक किरात राईहरूको महान् चाडहरू उभौली र उधौली साकेला भूमि पूजा वार्षिक रूपमा दुई पटक गरिने र मंसिरे पूर्णे अन्तर्गत पर्ने यस उधौली साकेलाको अवसरमा यो कार्यक्रम गरिने भएको छ । वैशाख पूर्णिमा अन्तर्गतको उभौली साकेला भूमि पूजामा प्राकृतिक प्रकोप र रोगब्याधीले नसताओस्। खेतीपाती राम्ररी सप्रियोस् भनी प्राकृतिक शक्तिको लागी भूमि पूजा गरी पितृहरूको आशीर्वाद माग्दै, साकेला नाचिने गरिन्छ भने यस उधौली साकेला भूमिपुजामा उक्त वर्षाको समयमा लगाइएको अन्न बाली सकुशल भित्र्याउन सफल भइएको, प्राकृतिक प्रकोप र रोगब्याधीहरू नलागी बाली सप्रेको भनी पुनः उनै प्रकृति(भूमि) र सिप्तुलुङ्गमा विराजमान पितृहरूप्रति कृतज्ञ हुँदै उधौली साकेला भूमीपूजा श्रद्धा पूर्वक मनाउने गरिएको छ ।
यो “उधौली साकेला भूमि पूजा” र किरात वंशका प्रथम राजा तथा किरात येलेदोङ्ग संम्बतका प्रवर्तक यलम्बरको स्मृतिमा स्थापित यलेदोङ्ग सम्बत वर्ष-५०७८ को शुभअवसरमा “यलम्वर सांस्कृतिक साँझ” मनाइने भएको छ । न्यु ईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईका अनुसार यलम्बर जन्म जयन्ती र उधौलीलाई एकीकृत रूपमा आयोजना गरी,एक आपसमा शुभकामना आदान-प्रदान गर्दै भब्यरूपमा सांस्कृतिक कार्यक्रम समेत गर्ने कार्यक्रम रहेको छ । उहाँले सम्पूर्ण न्यु ईङ्लैण्डबासी नेपाली दाजुभाइ, दिदीबहिनीहरू तथा विभिन्न सङ्घ/संस्थाहरूहरुको अतिरिक्त न्यु हेम्प्शायर राज्यको गभर्नर क्रिस सुनुनु, सिनेटर लो डी अल्सनड्रो र स्थानीय कांग्रेसम्यानहरु समेतलाई हार्दिक निमन्त्रणा गरिएको कुरा बताउनु भएको छ । उहाँले सदा झैँ यस पटक पनि सबै महानुभावहरूको सहयोग, सद्भाव र न्यानो मायाको अपेक्षा गरिएको कुरा बताउनु भएको छ ।